६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नेपाल विश्वकै सुन्दर मुलुक हुन सक्छ : सभामुख घिमिरे


91
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वकै सुन्दर मुलुकहरुको सूचिमा सबैभन्दा अगाडि हुने सम्भावना बोकेको देश भएको बताउनुभएको छ ।

सभामुख घिमिरेले नेपाललाई विश्वकै सुन्दर देशको अग्रणी बनाउन त्यसै अनुसारको अध्ययन, विश्लेषणको जरुरी रहेको पनि बताउनुभयो ।

शुक्रबार ललितपुरस्थित महालक्ष्मी नगरपालिकाले लाँकुरी भञ्ज्याङमा स्थापना गरेको मनमोहन मेमोरियल टावर परिसरमा लागिगुँरास फूलको बिरुवा रोपेपछि सभामुख घिमिरेले नेपाल सुन्दर देश भएपनि त्यसलाई अगाडि बढाउने गरी अध्ययन र अनुसन्धानको पाटोमा काम हुन नसकेको बताउनुभयो । उहाँले लाँकुरी भञ्ज्याङ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अभियान चलाएको भन्दै महालक्ष्मी नगरपालिकाप्रति खुशी व्यक्त गर्दै यसले मुलुकलाई समृद्ध बनाउन र पर्यटनमार्फत समृद्धि योजना बनाउन पनि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सभामुख घिमिरेले नेपालप्रतिको आकर्षण, आम्दानी बढाउन सो क्षेत्रले महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकाले महालक्ष्मी महानगरपालिकाले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अभियान चलाएको बताउनुभयो ।

महालक्ष्मी नगरपालिकाले काठमाडौं उपत्यकाको नजिकै रहेको लाँकुरी भञ्ज्याङ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेगरी त्यस क्षेत्रमा गणेशमान सिंह स्मृति पार्क बनाइएको छ । अहिले मनमोहन मेमोरियल टावर पनि निर्माण गरिएको छ । नगरपालिकमा मेयर हरिगोविन्द श्रेष्ठले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अभियान अन्तर्गत आगामी माघमा ‘लाँकुरी भञ्ज्याङ वर्ष’ मनाउने योजना पनि तय गरिएको बताउनुभयो । उहाँका अनुसार सो नगरपालिकाले त्यहाँको विकासका लागि राष्ट्रिय विभूतिहरुको स्मृति पार्कहरुलाई निर्माण गर्दै लैजाने छ ।

यसले काठमाडौं उपत्यका र यस क्षेत्रको पर्यटन र पर्यावरणमा मात्रै योगदान नदिई नेपालको समृद्धिमात्रै महत्वपूर्ण योगदान पुर्‍याउने महालक्ष्मी नगरपालिकाको बुझाई छ ।