
काठमाडौं । वागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले विद्यमान उद्योग र व्यवसायसम्बन्धि ऐनलाई छिट्टै संशोधन गर्ने बताउनुभएको छ ।
मन्त्री चित्रकारले उद्योग र व्यवसायमैत्री कानून निर्माणका लागि विद्यमान सो सम्बन्धि ऐन प्रदेश सरकारले छिट्टै संशोधन हुनेगरी प्रदेश सभामा पेस गर्नका लागि आवश्यक निर्णय गरिसकेको बताउनुभएको हो ।
शनिबार ललितपुरमा आयोजित साना तथा मझौला व्यवसायी महासंघ नेपाल, ललितपुर जिल्ला कार्य समिति अधिवेशनको उद्घाटन गर्दै उहाँले संविधानले उद्योग, व्यवसाय प्रवर्द्धन गर्ने अधिकार प्रदेश सरकारलाई दिएकाको उल्लेख गर्दै प्रदेश सरकारले सोही अनुसारको कामलाई प्राथमिकताका साथ अघि बढाएको समेत बताउनुभयो ।
उहाँले औद्योगिक ग्राम स्थापना गर्ने प्रदेश सरकारको निर्णय कार्यालयका लागि पनि आवश्यक ऐन निर्माणको लागि विधेयक तयार गरी प्रदेश सभामा पेश गर्न लागिएको जानकारी समेत दिनुभयो । मन्त्री चित्रकारले वागमती प्रदेश सरकारले साना तथा मझौला व्यवसायीहरुको समस्या समाधानका लागि आवश्यक बजेट र नीति तथा कार्यक्रम पनि तय गरेको दाबी गर्नुभयो । उहाँले उद्योग, व्यवसायको प्रवद्र्धनका लागि वागमती प्रदेश सरकारले उद्योगसम्बन्धि छुट्टै मन्त्रालय स्थापन गरेको जिकिर गर्नुभयो ।
कार्यक्रममा बोल्दै साना तथा मझौला व्यवसायी महासंघ नेपालकी सहअध्यक्ष इनु पोखरेलले उद्योग, व्यवसाय प्रवर्द्धनका लागि तीन वटै तहको सरकारलाई आफूहरुले दबाब दिने काम गरिरहेको बताउनुभयो । उहाँले साना तथा मझौला व्यवसायीहरुलाई बैंकबाट लोन लिनेलगायतका कामलाई सहज बनाउन पनि महासंघले सक्दो पहल गरिरहेको बताउनुभयो ।
सहअध्यक्ष पोखरेलले साना तथा मझौला व्यवसायीहरुको समस्या समाधानका लागि सरकारसँग निरन्तर लडाइ लडिरहनु परेको गुनासो पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्