१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


माओवादी केन्द्रको राजनीतिक एजेण्डाको बलमा पछिल्लो पटक पनि प्रधानमन्त्री भए : दाहाल


78
Shares

एजेन्सी । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू पार्टीको इतिहास र राजनीतिक एजेण्डाको तागतमा पछिल्लो पटक पनि प्रधानमन्त्री बन्न सफल भएको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले माओवादी केन्द्र ३२ सिटको सानो पार्टी भएपनि पार्टीको इतिहास, राजनीतिक एजेण्डाको बलमा आफू तेस्रो पटक पनि प्रधानमन्त्री बनेको बताउनुभएको हो ।

शनिबार काठमाडौंको चन्द्रागिरीस्थित भट्टेडाँडाबाट ‘जनतासँग माओवादी विशेष अभियान’को शुभारम्भ गर्दै उहाँले आफ्नो पार्टी नेतृत्वलाई नेपाली जनताको भरोसा रहेको दाबी समेत गर्नुभयो । आफूले प्रधानमन्त्रीमा करिव शतप्रतिशत विश्वासको मत पाएबाट तथा आफ्नो पार्टीप्रति इतिहासको, नेपाली जनताको र अरु पार्टीहरुको पनि भरोसा रहेको भन्ने प्रमाणित भएको प्रधानमन्त्री दाहालको भनाई थियो ।

प्रधानमन्त्री दाहालले नेपाली जनताको भरोसा जगाउन र सिंगो पार्टी पंक्तिमा उत्साहको सञ्चार गराउन आफूले सुशासनको पक्षमा भ्रष्टाचार बिरोधी अभियान चलाउनु परेको स्पष्ट पार्नुभयो । उहाँले प्रतिक्रियावादीहरुले अहिले पनि सत्तारुढ गठबन्धन फुटाउनका लागि आफ्नो भ्रष्टाचार बिरोधी अभियानबारे भ्रम फैल्याउने कोशिस गरिरहेको आरोप समेत लगाउनुभयो ।

प्रधानमन्त्री दाहालले आफूले शुरुवात गरेको भ्रष्टाचार बिरोधी अभियानलाई पनि नयाँ खालको जनयुद्धको रुपमा लिनुपर्ने जिकिर गर्नुभयो ।