
काठमाडौं । मोरक्कोका मिडफिल्डर सोफ्यान अम्रबाटलाई इंग्लिस प्रिमियर लिग टिम म्यानचेस्टर युनाइटेडले अनुबन्ध गरेको छ ।
२७ वर्षीय अम्रबाटलाई युनाइटेडले इटालियन क्लब फियोरेन्टिनाबाट लोनमा अनुबन्ध गरेको हो ।
२७ वर्षीय मिडफिल्डरका लागि युनाइटेडले जुन २०२४ सम्मका लागि १० मिलियन यूरो लोन शुल्क तिर्नेछ । उनलाई स्थायी बनाउन युनाइटेडले २० मिलियन पाउण्ड तिर्नुपर्नेछ । कतारमा सम्पन्न विश्वकप फुटबलबाट चर्चामा आएका अम्रबाटले मोरक्कोको सेमिफाइनल यात्रामा महत्वपूर्ण भूमिका निभाएका थिए ।
यस्तै, क्याटलान क्लब बार्सिलोनाले ट्रान्सफर विन्डोको अन्तिम दिनमा दुई स्टार पोर्चुगिज खेलाडी भित्र्याएको छ । स्पेनिस च्याम्पियन बार्सिलोनाले फरवार्ड जोआओ फेलिक्स र राइट–ब्याक जोआओ क्यान्सेलो लाई एक सिजन लामो लोन सम्झौता गर्दै अनुबन्ध गरेको हो ।
स्पेनिस क्लब एटलेटिको म्याड्रिडमा रहेका फेलिक्सले क्लबमा विवाद भएपछि गत सिजनको दोस्रो भाग इंग्लिश क्लब चेल्सीमा लोनमा बिताएका थिए । यस सिजन फेरि स्पेन फर्किएका उनले केही महिना अगाडि बार्सिलोना आउने ईच्छा सार्वजनिक रूपमा नै व्यक्त गरेका थिए ।
फेलिक्सलाई भिर्याउन आर्थिक भार परेको बार्सिलोनाले अन्सु फाटीलाई एक सिजनका लागि इंग्लिश क्लब ब्राइटन पठाएको छ । यस्तै अर्का पोर्चुगिज खेलाडी जोआओ क्यान्सेलो पनि एक सिजनको लोन सम्झौतामा बार्सिलोना भित्रिएका छन् । म्यान्चेस्टर सिटीमा रहेका उनले पनि विवाद पश्चात गत सिजन बायर्न म्युनिखमा लोन सम्झौतामा बिताएका थिए ।
प्रतिक्रिया दिनुहोस्