१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एक लाख हेक्टर जमिनमा चैते धान लगाउने तयारीमा छौं : कृषिमन्त्री भुसाल


130
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले उत्पादन र निर्यात वृद्धि तथा आयात प्रतिष्थापन गरेर मात्रै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले कृषि नेपालको लागि मेरुदण्ड भएको उल्लेख गर्दै कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिंचाईको रहेको बताउनुभयो ।

मन्त्री भुसालले अहिले पनि देशको खेतीयोग्य जमिनको आधा पनि सिंचाई हुन नसकेको बताउनुभयो । ४८ प्रतिशत जमिन वर्षा याममा मात्रै सिंचाई हुने र १८ प्रतिशत जमिन मात्रै सधैँभर सिंचाई हुने अवस्था रहेको बताउँदै सिंचाईको समस्या समाधान गर्नु नै पहिलो काम रहेको बताउनुभयो । यस वर्ष सरकारले चैते धान एक लाख हेक्टर क्षेत्रफलमा लगाउने गरी काम शुरु गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले उपभोक्ताको घर र भान्सासम्म पुग्ने विषयलाई एउटा छाता कानूनको रुपमा कृषि विधेयक हाउसमा पेस गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले आगामी अधिवेशनमा कृषि विधेयक संसदबाट पारित हुने र पारितपछि नेपालको कृषि क्षेत्रमा वृहत कानूनी संरचनाको व्यवस्थापन हुने बताउनुभयो । उहाँले नर्सरीले अब बिरुवा बेच्दा श्रोत खुलाएर मात्रै बेच्न पाउने नर्सरी निर्देशिका बनाइरहेको पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले अर्थतन्त्रलाई बलियो बनाउन सबैभन्दा पहिला भएको खेतीयोग्य जमिनको प्रयोग बढाउनुपर्ने बताउनुभयो । उहाँले जमिनको प्रयोग नगरी अन्य माध्यमबाट देश समृद्ध हुन गाह्रो रहेको उल्लेख गर्नुभयो ।

उपाध्यक्ष श्रेष्ठले अर्थतन्त्रको समस्या पूर्ण रुपमा सकि नसकेको उल्लेख गर्नुभयो । अर्थतन्त्र कमजोर बन्नुमा उत्पादन र रोजगारीको प्रमुख समस्या रहेको बताउनुभयो । अर्थतन्त्रका समस्यालाई समाधान गर्न कृषि क्षेत्र नै नेपालका लागि एकमात्र माध्यम बन्नसक्ने बताउनुभयो ।