
काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले सरकारले व्यवसायीहरुका माग सम्बोधन गरी व्यवसायिक वातावरण नबनाए चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकार र राष्ट्र बैंकको नीतिको कारण उद्योगी व्यवसायीहरुले व्यवसाय गर्ने वातावरण नभएको भन्दै व्यवसायीहरुको माग सम्बोधन नगरे आन्दोलन गर्ने घोषणा गरेको हो ।
रोजगारी सिर्जना गर्ने र राज्यलाई कर तिर्ने व्यवसायीहरुलाई नीतिमा सहजिकरण गरी संरक्षण गर्नुपर्नेमा विभिन्न अभियोग लगाई धरपकट गर्ने,अनुन्धानको नाममा हिरासतमा लिने कार्यले व्यवसायिक वातावरण सरकारले बिगार्ने काम गरेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न महासंघले सरकारसँग माग गरेको छ ।
महासंघले सरकारले देशभित्रै रोजगारी सिर्जना नगर्ने तर राजश्व संकलन मात्रै प्राथमिकतामा राखेर उद्योगी व्यवसायी र लगानीकर्तालाई निरास पार्ने काम गरेको आरोप लगाएका छ । महासंघले निजी क्षेत्रसँग समन्वय बिना सरकारले ल्याएका नीतिको कारण सिंगो मुलुकको अर्थतन्त्रमा थप समस्या र चुनौती बढ्दै गएको बताएको छ ।
पत्रकार सम्मेलनमा महासंघका महासचिव भगिरथ सापकोटाले सरकारले उच्च रहेको बैंकको ब्याजदरलाई घटाएर उद्योग व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्ने माग राख्नुभयो । उहाँले सरकारले व्यवसायीहरुको माग उचित रुपमा सम्बोधन नगरे चरणवद्ध रुपमा आन्दोलन गर्ने घोषणा गर्नुभयो । महासचिव सापकोटाले आर्थिक मन्दीका कारण व्यवसाय नचलेर ऋणको ब्याज र किस्ता तिर्न समेत नसकेको अवस्थामा बैंकहरुले लिएको अव्यवहारिक र आफूखुशी ब्याज बढाउने नीतिले उद्योगी व्यवसायीहरुमा निरासा छाएको बताउनु भयो ।
उहाँले बैंकहरुको आफूखुशी ब्याज वृद्धि रोक्नुपर्ने अवस्थामा सरकार र राष्ट्र बैंक गैरजिम्मेवार बनेको आरोप लगाउनुभयो । उहाँले राष्ट्र बैंकले हालै संशोधन गरेको चालु पुँजीकर्जाको व्यवस्थाले मात्रै अहिलेको अवस्थामा कर्जा प्रवाह भएर मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने दाबी गर्नुभयो । उहाँले चालु पुँजीकर्जा संशोधनले उद्योग क्षेत्रलाई केही राहत भएपनि वाणिज्य क्षेत्रलाई केही नभएको भन्दै उद्योग क्षेत्रसरह नीतिको व्यवस्था गर्न माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्