
काठमाडौं । धादिङमा सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण सुरु गरिएको छ ।
राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरु गरेको हो ।
अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्ने अभियान थालिएको हो । अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताइएको छ ।
पृथ्वी राजमार्गमा दिनहुँजसो दुर्घटना भई रहने भएकाले दुर्घटना न्यूनिकरण गर्न स्वास्थ्य परिक्षण गरीएको हो । चालककै लापरवाही र स्वास्थ्य अवस्थाका कारण दुर्घटना भएको पाईएकाले अभियान सबै जिल्लाले सुरु गर्नसके राजमार्गमा हुने दुर्घटना कम गर्न सकिने छ ।
अभियानअन्तर्गत बेनिघाट रोराङ गाउँपालिकाको प्राविधिक सहयोगमा चालकको उच्च रक्तचाप, आँखाको भिजन परीक्षणलगायत मानसिक तथा शारीरिक थकानको जाँच गरिएको छ । पृथ्वी राजमार्ग हुँदै देशैभरका सवारीसाधन संघीय राजधानी आवतजावत गर्ने भएकाले अन्य जिल्लालाई पनि सन्देश दिने उद्देश्यले पनि अभियानको थालनी गरिएको हो ।
स्वास्थ्य परीक्षण गरिएका चालक तथा सहचालकमध्ये धेरैमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्