
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट रङ्गशाला निर्माणको पहल गर्ने बताउनु भएको छ ।
एशिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न सोमबार श्रीलंका पुगेका नेपालीहरुको प्रशंग उल्लेख गर्दै सामाजिक सञ्जाल मार्फत मेयर साहले यस्तो बताउनुभएको हो ।
काठमाडौं आसपासमा एक सय रोपनी जति जग्गा सरकारले उपलब्ध गराए त्यसमा क्रिकेट मैदान बनाउने पहल महानगरपालिकाले गर्ने उहाँको भनाइ छ । रङ्गशाला र केहि ठूला प्रतियोगिताहरु हुने हो भने खेलको सहज विकास हुन सक्ने भन्दै उहाँले एउटै प्रतियोगिताबाट करोडौँ रुपैयाँ आर्जन सकिने पनि बताउनु भएको छ ।
महानगरपालिकाले खेलाडी र तल्लो तहका खेलाडीको सिकाइका लागि सकेसम्म हरेक वडामा बलिङ नेट राख्ने प्रबन्ध यसअघि नै गरिसकेको पनि उहाँले जानकारी दिनुभएको छ ।
नेपाल र भारतबीचको खेल हेर्न विश्वका विभिन्न देशमा रहेका करीब दुई हजार नेपालीहरु सोमबार श्रीलंका पुगेको भन्दै श्रीलंकाको अध्यागमनका कर्मचारी समेत चकित पर्दै एकै पटक नेपालीहरु ओईरिनुको कारण सोधेको साहको भनाइ छ ।
श्रीलंका खेल हेर्न पुगेको नेपालीहरुले मात्रै करीब ३० करोड रुपैयाँ बराबरको खर्च गरेको हुनसक्ने पनि मेयर शाहको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्