
काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन सोबबीच छलफल भएको छ ।
अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले मंगलबार राजदूत सोबसँग भेट गरी लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारका विषयमा छलफल गर्नुभएको हो ।
परिसंघका अध्यक्ष अग्रवालले चीन विकासको महत्वपूर्ण साझेदार रहेको भन्नुहुँदै नेपाल पछि परेको पूर्वाधार क्षेत्रमा सहकार्यको आवश्यकता रहेको बताउनुभयो । उहाँले पूर्वाधार, प्रविधि हस्तान्तरण, सीप, पर्यटनलगायतका क्षेत्रमा चिनियाँ लगानी एवं सहकार्यलाई उच्च प्राथमिकता दिन आग्रह गर्नुभयो ।
विद्युतीय व्यापारका माध्यमबाट नेपाली वस्तु चिनियाँ बजारमा पुर्याउन सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो । अध्यक्ष अग्रवालले परिसंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीचको सहकार्यमा नेपालमा देखिने गरी काम गर्न लागेको समेत राजदूत सोबलाई जानकारी गराउनुभयो ।
सो अवसरमा चिनियाँ राजदूत सोबले चीन र भारतको बीचमा भएर सानो देखिएता पनि नेपाल सानो मुलुक नभएको बताउनुभयो । नेपालसँग भएको आफ्नो उर्जा र स्रोतमार्फत विकास गर्न सक्ने भन्नुहुँदै उहाँले दीर्घकालिन विकास रणनीति आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले उर्जा क्षेत्रलाई प्राथमिकता दिदै नेपालले विद्युतीय प्रयोग बढाउनुपर्ने सुझाव दिनुभयो ।
त्यसले आयात प्रतिस्थापनमा सहयोग गर्ने उहाँको भनाई थियो । परिसंघले औद्योगिक विकासका लागि काम गर्दै आएको भन्नुहुँदै उहाँले नेपालको औद्योगिक विकासका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणका विषयमा समेत छलफल भएको थियो । छलफलमा परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु निर्वाण चौधरी, हेम राज ढकाल, रोहित गुप्ता, अमित मोर, पदाधिकारी सदस्यहरु छाया शर्मा, गोकुल भण्डारी, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी हुनुहुन्थ्यो
प्रतिक्रिया दिनुहोस्