१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


संघीय निजामती सेवा ऐन अझै संसदमा नल्याएको भन्दै सरकारप्रति सांसदको आलोचना


273
Shares

काठमाडौं । सत्तारुढ दलका सांसदहरुले संघीय निजामती सेवा ऐन अझै संसदमा नल्याएकोमा सरकारको आलोचना गरेका छन् ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले सो विधेयक तत्काल संसदमा पेश गरी कानून निर्माण गर्न ढिलाई नगर्न सरकारलाई दवावसमेत दिनुभयो ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै काँग्रेस सांसद बडूले प्रहरी समायोजनसम्बन्धि ऐन किन कार्यान्वयनमा नल्याएको भन्दै सरकारलाई प्रश्न समेत गर्नुभयो । उहाँले राष्ट्रिय सुरक्षा नीति निर्माण गर्न पनि ढिलाई नगर्न सरकारसँग माग गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी)का सांसद पाण्डेले संघीयता कार्यान्वयनका लागि आवश्यक कानून बनाउने काममा ध्यान नदिएको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले केवल कुर्सीमा बस्नका लागि मात्रै संघीयता ल्याएजस्तो गरेर सरकारले आफ्नो गतिविधिलाई अघि बढाएको आरोप समेत लगाउनुभयो ।

सांसद पाण्डेले भन्नुभयो, ‘न संघीय निजामती सेवा ऐन ल्याउन सक्यो, न प्रहरीलाई समायोजन गर्नसक्यो ? न शिक्षा ऐन ल्याउन सक्यो ? केबल कुर्सीमा पुग्न लागि मात्रै संघीयता भन्ने अर्थ लागेको छ । यसबारेमा पनि हामी सबैले गम्भिरतापूर्वक ध्यान दिन आवश्यक छ ।’

सांसद पाण्डेले संघीय शिक्षा ऐन, संघीय निजामती सेवा ऐन, प्रहरी समायोजनसम्बन्धि ऐन निर्माण र कार्यान्वयन गर्न सरकारले ढिलाई गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।