१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


‘लेखा समितिले जोखिम र ठूला बेरुजुका विषयलाई प्राथमिकता दिनुपर्छ’


78
Shares

काठमाडौं । सार्वजनिक लेखा समितिले जोखिम र ठूला बेरुजुका विषयलाई प्राथमिकता दिएर काम गरी परिणाम निकाल्न आवश्यक रहेको सांसदहरुले बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिको बैठकमा बोल्दै अधिकांश सांसदहरुले सार्वजनिक लेखा समितिप्रति जनताको आशा रहेको भन्दै जोखिम र ठूला बेरुजु लगायत अन्य काण्डहरुको विषयमा प्राथमिकताका साथ काम गर्नुपर्ने बताएका हुन् । उनीहरुले सार्वजनिक लेखा समितिले लोकप्रियता र निर्देशनको आधारमा भन्दा पनि जनताको चासोको विषयमा सरकारले कार्यान्वयन गर्ने गरी निर्देशन दिन आवश्यक रहेको बताए ।

सांसदहरुले लेखापरिक्षक कार्यालयले सार्वजनिक गरेका सम्पूर्ण निकायहरुको बेरुजुको विषयमा भन्दा पनि प्राथमिकताको आधारमा छलफल र अध्ययनको काम गर्नु पर्ने बताए । समितिले सबै विषयमा छलफल गर्ने भन्दा पनि प्राथमिकिकरण गरी जोखिम, धेरै बेरुजु फछ्र्यौट नभएका र ठूला भ्रष्टाचारका काण्डका विषयमा परिणाम हुने गरी काम गर्न आवश्यक रहेको बताए ।

महालेखापरिक्षक कार्यालयले निकाल्ने बेरुजु महापुराण जस्तो भएको टिप्पणी सांसदहरुको थियो । समिति बैठकमा बोल्दै नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले समितिले बेरुजुको विषयमा महालेखा, मुख्य सचिव र सचिवहरुसँग छलफल गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले महालेखाको प्रतिवेदन महापुराना जस्तो भएको टिप्पणी गर्नुभयो । उहाँले महालेखाको प्रतिवेदनमा भएको कुरा नभएर भाषण मात्रै लेखेको दाबी गर्नुभयो ।

सांसद बास्कोटाले महालेखाले गोलमोटल प्रतिवेदन सार्वजनिक गर्ने गरेको भन्दै महालेखाले यस्तो खालको प्रतिवेदन दिएर बेरुजु लगायतका विषयमा केही सुधार हुन नसक्ने उल्लेख गर्नुभयो । उहाँले प्रतिवेदनमा लेखापरिक्षकको विज्ञता मात्रै देखाएको उल्लेख गर्नुभयो ।

सांसद बास्कोटाले समितिले चालु आर्थिक वर्षबाट सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले समितिले उपसमिति गठन गर्दा बिरालो बाँधेर सराध्य गर्ने जस्तो गर्न नहुने बताउनु भयो । उहाँले तत्काल बाहिर निस्कनुभएका मन्त्रीहरु सोही मन्त्रालय हेर्नेगरी उपसमितिमा राख्न नहुने बताउनुभयो । उहाँले उपसमितिमा सदस्यहरु दोहोरिएमा स्वार्थ बाझिने सम्भावना हुने बताउनुभयो ।

त्यस्तै, सांसद अमरेशकुमार सिंहले सार्वजनिक लेखा समितिले बेरुजु हेर्ने निश्चित समयअवधि तोकेर हेर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारका विभिन्न निकायको २७ साल देखिको बेरुजु रहेको भन्दै समितिले कसरी हेर्ने समस्या रहेको बताउनुभयो ।

सांसद सिंहले समितिले पुरानो बेरुजुलाई अनुसन्धान गरी नयाँलाई बेरुजु नहुने गरी काम गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले समितिले चिया खाजाको बेरुजुको विषयमा भन्दा पनि अर्र्बौं रुपैयाँ बेरुजुको विषयलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो ।

सांसद सिंहले समितिले आगामी दिनमा सरकारी सम्पती कुनैपनि हिसावमा दुरुपयोग नहुने गरी परिणाम आउने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले मन्त्रीहरुले पाउने सेवा सुविधाका विषयमा पनि छलफल गरी छानबिन समितिले गर्न सक्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद राजन केसीले मुलुकमा बेरुजु बढ्नेको प्रमुख कारण भ्रष्टाचार मात्रै नभएको बताउनुभयो । उहाँले बेरुजु बढ्नुमा ऐन नियम, कानून र बेथितिका कुराहरु रहेको बताउनुभयो । सांसद केसीले जसरी भएपनि अवेज्ञा गर्ने मानसिकताले काम गरिहेको बताउनुभयो ।

सांसद केसीले सार्वजनिक लेखा समितिको क्षेत्राधिकार भएको राष्ट्रिय आय व्यय ठिक तरिकाले कानून अनुसारको भयो की भएन भन्ने विषयमा राम्रो अध्ययन भएका सांसदहरु उपसमितिमा बसेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारको बेरुजु शून्यमा झार्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले प्रत्येक वर्ष २५ देखि ३० प्रतिशतसम्म बेरुजु वृद्धि भइरहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सुन काण्ड, भूटानी शरणार्थी, बालुवाटार जग्गा र गिरीबन्धु टि स्टेट काण्डका विषयमा समितिमा छलफल हुन आवश्यक रहेको बताउनुभयो । उहाँले यस्ता विषयमा समितिले छलफल र बहस गरेर निराकरण गर्नुपर्ने बताउनुभयो । उहाँले संघीय सरकार र प्रदेश सरकार मातहतमा रहेका निकायहरुको बेरुजु फछ्र्यौट गर्ने काम सार्वजनिक लेखा समिति र संसदले गर्छ तर स्थानीय सरकारले आफैँ खर्च र बेरुजु फछ्र्यौट पनि आफैँ गर्ने बताउनुभयो ।

सांसद मोदीले अहिलेसम्म विश्वको इतिहासमा आफै खर्च गरेर बेरुजु फछ्र्यौट आफैँ नगरेको भन्दै स्थानीय सरकारले खर्च गरेको महालेखाले लेखापरीक्षण गर्दा डरलाग्दो समस्या निम्त्याउने खतरा रहेको बताउनुभयो । त्यस्तै, सांसद लेखनाथ दाहालले पदमा बस्दा बेथिति नदेख्ने तर पदभन्दा बाहिर आएपछि विज्ञको रुपमा प्रस्तुत हुने परम्परा रहेको बताउनुभयो ।

सांसद मोदीले बेरुजु फछ्र्यौट र असुल उपर बेरुजुको बारेमा पुनः लेखापरीक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले पुनः लेखापरीक्षण गर्दा बेरुजु असुल उपर र असुल उपर बेरुजु फछ्र्यौटमा बदलिन सक्ने बताउनुभयो । उहाँले लेखा परीक्षणमा पारदर्शिताको अभाव रहेको बताउनुभयो । उहाँले ९६० अर्ब बेरुजु र ३२५ अर्ब असुल उपर बेरुजु किन फछ्र्यौट हुन सकेन भनेर समस्या पत्ता लगाउन आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकमा भ्रष्टाचार र बेथितिले सीमा नागेको अवस्था रहेको बताउनुभयो । उहाँले राज्यको लगानी भएका निकायहरु राष्ट्रिय बीमा संस्थान, साल्ट टेनिङ, विशालबजार विगत लामो समयदेखि अडिट नभएको बताउनुभयो ।

सांसद हरि ढकालले सरकारी संस्थानहरुमा राजनीतिक स्वार्थ बाझिँदा समस्या देखिएको बताउनुभयो । उहाँले सार्वजनिक लेखा समितिले सरकारलाई आगामी वर्षमा सुशासनमा लैजान, भ्रष्टाचार न्युनिकरण र बेरुजु वृद्धि नहुने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले बेरुजुको विषयमा ठूला भन्दा पनि सरकारी निकायहरुबाट नै अनुसन्धान गरी फछ्र्यौट गारउने काममा समिति लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तै, एकीकृत समाजवादीमा सांसद प्रेम आलेले मुलुकमा बेरुजु र वक्यौता रहनुमा राजनीतिक कारण भएको बताउनुभयो । उहाँले माथिदेखि तलसम्म राजनीतिक सेटिङको कारण मुलुकमा अर्बौंको बेरुजु देखिएको बताउनुभयो ।

सांसद ढकालले उहाँले क्यासिनो तथा ट्रंक लाइन डेडिकेटेट लाइनको गरी करिब २० अर्ब रुपैयाँ वक्यौता पुगेको बताउनुभयो । उहाँले अघिल्लो समितिमा ट्रंक लाइन डेडिकेटेट लाइनको उपसमितिले छानबिन गरी समितिले प्रतिवेदन बुझायो तर कार्यान्वयन नभएको बताउनुभयो । उहाँले पार्टीलाई चन्दा दिने भएकाले प्रतिवेदन अनुसार कार्यान्वयन नभएको आरोप लगाउनुभयो । उहाँले राज्यलाई कर नतिर्ने र वक्यौता राख्नेहरुको खल्तीमा राज्य रहेको बताउनुभयो ।