
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकारले भ्रष्टाचारमा संलग्न जोकोही पनि छोड्न नहुने बताउनुभएको छ ।
उपमहासचिव पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले पार्टी भित्रकै नेता भएपनि भ्रष्टाचारमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन बारम्बार दवाव दिने गरेको जिकिर समेत गर्नुभयो ।
पार्टी निकट श्रमिक संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा राज्य शक्तिको दुरुपयोग नगर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
निर्दोष कोही पनि नपरुन्, दोषी कोही पनि नउम्किने गरी सरकारले सुशासनको क्षेत्रमा काम गर्नुपर्ने उपमहासचिव पुनको भनाई थियो । उपमहासचिव पुनले कुनैपनि नागरिकको सामाजिक छवि नै सिद्धिने गरी आरोपित गर्ने काम नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।
त्यस अवसरमा पूर्व अर्थमन्त्री समेत रहनुभएका पुनले मुलुकमा आर्थिक गतिविधि बढाउन पनि वैदेशिक ऋण भित्र्याउनुपर्ने बाध्यात्मक अवस्था रहेको पनि स्मरण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्