१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाली समाजले साम्प्रदायिकता स्वीकार गर्दैन : मन्त्री किराँती


104
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले नेपाली समाजले साम्प्रदायिकता स्वीकार नगर्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा खेमराज गुरुङ ट्रष्टले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री किराँतीले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा पछिल्लो समय केही तत्वहरुले नेपाली समाजको साम्प्रदायिकता भड्काउन खोजेको भन्दै इतिहासदेखि अहिलेसम्म नेपाली समाजले साम्प्रदायिकता स्वीकार नगरेको दाबी गर्नुभयो ।

मन्त्री किराँतीले नेपाल सबै जाती,धर्म र संस्कृतीको साझा फुलबारी रहेको भन्दै केही तत्वहरुले साम्प्रदायिकताको मुद्दा उठाएर हात हाल्न नसक्ने बताउनुभयो । उहाँले विगतमा राजाको पालामा साम्प्रदायिकता भड्काउने काम भएपनि त्यस्तो हुन नसकेको उल्लेख गर्नुभयो । मन्त्री किराँतीले नेपालको २०७२ को संविधानले सबै परम्परा र सांस्कृतिक मूल्य मान्यताको संरक्षण,विकास,संवद्र्धन गर्ने तर आफ्नो संस्कृतिको संरक्षण गर्दा अर्काको सस्कृति माथि आँच पुग्नु हुँदैन भन्ने स्पष्ट पारेको दाबी गर्नुभयो । उहाँले नेपाली सबैले सहिष्णुता कायम गरी साम्प्रदायिकता खारेज गरी सुन्दर फुलबारीको रक्षा गर्न आवश्यक रहेको बताउनुभयो ।

मन्त्री किराँतीले नेपाल प्राकृतिक,धार्मिक र सांस्कृतिक रुपमा धनी, ठूलो र सुन्दर रहेको बताउनुभयो । संसारको अग्लो शिर सगरमाथा, गौतम बुद्ध, पशुपति, हिमाल पहाड तराई, फरक पहिरन, भाषा, संस्कृति नै नेपालीहरुको मौलिकता रहेको मन्त्री किराँतीको भनाई छ । मन्त्री किराँतीले नेपालको संस्कृति र प्रकृति हिरा र सुन भएको भन्दै त्यसलाई नेपालले विश्व बजारमा बेच्न र ब्राण्डिङ गर्न सक्नुपर्ने बताउनुभयो ।

मन्त्री किराँतीले संसारका मानिसहरुलाई नेपालको संस्कृति, परम्परा, प्रकृतिप्रति आकर्षित गर्नसके मात्रै नेपाल पर्यटनको क्षेत्रबाट प्रकृति र संस्कृतिलाई देखाएर धेरै डलर आर्जन गर्नसक्ने अवस्था रहेको उल्लेख गर्नुभयो । नेपालको जंगल, जडिबुटी र पानीलाई मात्रै सदुपयोग गर्नसके आर्थिक रुपमा धेरै माथि पुग्ने बताउनुभयो ।

मन्त्री किराँतीले मुलुकमा गीतसंगीतको क्षेत्रबाट योगदान पुर्‍याउने सष्ट्राहरुलाई राज्यले सम्मान गर्ने बताउनुभयो ।