
काठमाडौं । रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ ।
जिल्लाको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका–१ जगल गाउँकी ६१ वर्षीया गङ्गी पुनको मृत्यु भएको हो ।
सुत्केरी २२ वर्षीया विष्टलाई मंगलबार दिउँसो बारीमा गाईवस्तुलाई घाँस काट्ने क्रम सर्पले टोकेको थियो । सोही राति विष्टले छोरीलाई जन्म दिएकी थिइन् । तर, सुत्केरी आमाको रक्तश्राव नरोकिएपछि उपचारका लागि चौरजहारी अस्पताल लगिएको थियो । सर्पको विष शरीरमा फैलिएको र रक्तश्रावका कारण बुधबार बिहान मुत्यृ भएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताउनुभयो ।
शिशुको पनि अवस्था गम्भीर रहेकाले रेफर गर्न लागिएको अस्पतालले जनाएको छ । शिशु जन्मने अवधि कात्तिक महिना भए पनि समय नपुग्दै शिशुको जन्म मङ्गलबार नै भएको थियो ।
गङ्गी पुनलाई भने सर्पले भदौ ४ गते नै टोकेको थियो। सर्पले टोकेपछि पुनलाई चौरजारी अस्पताल हुँदै प्रादेशिक अस्पताल सुर्खेत पुर्याइएको थियो । अस्पतालबाट गाउँमै उपचार गर्ने भनेर घर परिवारले घर ल्याएको चार दिनपछि पुनको बुधबार घरमै मृत्यु भएको वडाध्यक्ष टेकबहादुर पुनले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्