६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सुदूरपश्चिममा डेङ्गीको जोखिम बढ्दै


169
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशमा डेङ्गी संक्रमण बढ्दै गएको छ।

डेङ्गी रोगको संक्रमण तीव्र रुपमा फैलिएसँगै सुदूरपश्चिममा एक साताको अवधिमा २ जनाको मृत्यु भएको छ। कंचनपुरमा एक युवक र हिमाली जिल्ला दार्चुलामा १ किशोरीको डेङ्गीबाट मृत्यु भएको हो।

कंचनपुरको वेलौरी नगरपालिका-८ का २७ वर्षीय हिक्मत खत्रिको डेङ्गी रोगको संक्रमणले मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले बताए। डेङ्गी रोगको संक्रमण पछि धनगढी स्थित अस्पतालमा उपचार गर्ने क्रममा भदौ ११ गते खत्रीको मृत्यु भएको उनले बताए।

युवकको मृत्यु भएको ५ दिनपछि हिमाली जिल्ला दार्चुलामा पनि डेङ्गीले एक छात्राको ज्यान गएको छ। स्वास्थ्य कार्यालय दार्चुलाका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति वीरेन्द्र भट्टले दार्चुला महाकाली नगरपालिका वडा नं-९ दत्तु बस्ने १४ वर्षीय किशोरी जेलिना चैसिरको डेङ्गीले मृत्यु भएको बताए।

राष्ट्रिय माध्यमिक विद्यालय दत्तुमा कक्षा ९ मा अध्ययनरत छात्रा जेलिनाको डेङ्गीको संक्रमणले भदौ १६ गते मृत्यु भएको उनले बताए। हिमाली जिल्ला दार्चुलामा डेङ्गी रोगको संक्रमणले मृत्यु भएको यो पहिलो पटक हो।

केही वर्ष अघि सम्म लामखुट्टे नै नदेखिने हिमाली जिल्ला दार्चुलामा डेङ्गी रोगको संक्रमण सबैभन्दा बढी फैलिएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।