१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


‘राष्ट्र बैंकले शेयर कर्जामा लगाएको १२ करोडको सीमाका कारण शेयर बजार प्रभावित भयो’


2.054k
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले शेयर बजारमा लगाएको १२ करोडको नीतिले परेको प्रभावको विषयमा आवश्यक संवाद भइरहेको बताउनुभएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभामा सांसदहरुसँगको प्रश्नोउत्तरको जवाफमा अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय लगातार रुपमा शेयर बजारमा आएको गिरावटका विषयमा सरकार जानकार रहेको बताउनुभयो ।

अर्थमन्त्री महतले राष्ट्र बैंकले शेयर कर्जामा लगायएको १२ करोडको सीमाले प्रभावित बनाएको दाबी गर्नुभयो । उहाँले शेयर कर्जा सहज बनाउन सरकारले राष्ट्र बैंकको नियमनबाट परेको प्रभावका विषयमा आवश्यक संवाद गरिरहेका उल्लेख गर्नुभयो ।

अर्थमन्त्री महतले सरकार शेयर कारोबारले सहज रुप लिनुपर्छ भन्ने पक्षमा रहेको भन्दै लगानीकर्ताहरुको लगानी डुब्न नदिने बताउनुभयो । शेयर बजारमा परेको नकरात्मक प्रभावका विषयमा सरकार गम्भिर रहेको भन्दै यसलाई पारदर्शी, नीतिगत, प्रक्रिया र प्रणालीगत सुधार ल्याउने उहाँको भनाई छ । अर्थमन्त्री महतले शेयर बजारमा सबैखाले मानिसहरुले हैसियत अनुसार पुँजीका आधारमा लगानी गर्नसक्ने कानूनले छुट दिएको बताउनुभयो । उहाँले शेयर बजारमा शिक्षक, डाक्टर, इन्जिनियर अन्य पेशा व्यवसाय लगायत सबैले शेयर बजारमा लगानी गर्नसक्ने उल्लेख गर्नुभयो ।

अर्थमन्त्री महतले पूर्णकालिन व्यवसायीको रुपमा लगानी गर्ने र कसैले बचेको पुँजी शेयर बजारबाट आम्दानी हुन्छ भन्ने आशयले गरेको लगानीलाई सरकारले अनुचित मान्न नसक्ने बताउनुभयो । उहाँले अन्य पेशा व्यवसायीका मानिसहरुले शेयर कारोबार गरेर मूल्य घट्यो र आत्महत्या गर्ने तहमा पुग्यो भन्ने निष्कर्षमा पुग्न नहुने बताउनुभयो । अर्थमन्त्री महतले शेयर कारोबारमा कोही पनि अनुचित रुपमा प्रवेश नगरुन्, इन्साइडर टे«डिङ गर्न नपाउन र सूचना चुहाएर शेयर बजार प्रभावित बनाउन नपाउन भन्ने बारेमा सरकारले निगरानी गरिरहेको बताउनुभयो ।