७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


राष्ट्रपति पौडेलद्वारा उत्कृष्ट १० कविहरूलाई पुरस्कार प्रदान


182
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट १० जना कविहरूलाई पुरस्कार प्रदान गर्नुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औं वार्षिकोत्सवका उपलक्ष्यमा सम्पन्न भएको प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट कविहरूलाई राष्ट्रपति पौडेलले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा सो पुरस्कार प्रदान गर्नुभएको हो ।

पुरस्कृत कविहरूमा उमेश पुन (छोरी, सिमाना र देश शीर्षकको कविता) काठमाडौँ, कृपा करुणा पोखरेल (रक्तिम कथा) सुनसरी, खिमानन्द जोशी (ईजा) मुई गोठ नाइँ झान्या हुँ) दार्चुला, जीवन आरोही (प्रश्नहरुको विज्ञप्ति) उदयपुर, टङ्कबहादुर झाँक्री मगर ( हुन्के बे बड्डा) रोल्पा, तीर्थराज विश्वकर्मा (कविले के सम्झियो रु) सुनसरी, नविन अभिलाषी (भेरी : अभिशप्त बगिरहेछ) दाङ, पूर्णानन्द ओझा (सन्निको मान्स) डोटी, प्रकाश दिप्साली राई (नौरानको नाम) सुनसरी र राधिका कल्पित (परिचय पत्र) काठमाडौं रहेका छन् ।

सो अवसरमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले साहित्यको विकासमा सरकारले सदैव सहयोग गर्ने धारणा राख्दै स्रस्टाहरूले नेपाली समाजको सुक्ष्म अवलोकन, अध्ययन र अनुसन्धान गरेर मौलिक रचना सृजना गर्नुपर्नेमा जोड दिनुभयो । हामीले आफ्नो मौलिक रचना विश्व साहित्य माझ प्रस्तुत गर्नुपर्ने उहाँको सुझाव थियो ।

प्रतिष्ठानका कुलपति भुपाल राईले प्रतिष्ठानका गतिविधि र कविता महोत्सवका विविध पक्षबारे प्रकाश पार्नुभएको थियो । उहाँले प्रतिष्ठानका प्रकाशनहरू सो अवसरमा राष्ट्रपति पौडेललाई प्रदान गर्नुभयो ।

सो अवसरमा साहित्य विभाग प्रमुख बाबा बस्नेतले राष्ट्रिय कविता महोत्सव २०८० सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो भने उपकुलपति विमल निभाले स्वागत मन्तव्य राख्नुभयो ।