८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नारायणहिटी मन्दिरमा अनौठो वृक्ष, नजिक जादा राहु, केतु र शनिको प्रभाव कम हुने विश्वास


25.363k
Shares

दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी

काठमाडौं । नारायणहिटी परिसरभित्र ईसा पूर्व ४ सयमा रोपिएको विश्वास गरिने एउटा अनौठो वृृक्ष रहेको छ । चर्तुव्युह नारायण मन्दिरमा रहेको वृृक्ष नौलो त छ नै साथै दुर्लभ पनि । ज्योतिषीय दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने यस रुखबाट तीन वटा अलग अलग वनस्पतिको जन्म भएको छ ।

बर, पिपल र शमी एकै ठाउँमा रहेको यो वृृक्ष विश्वमै एउटै मात्र रहेको दाबी गरिन्छ । वातावरण जोगाउन र अक्सिजन प्राप्त गर्न रोपिने गरेको भन्दा निकै फरक र अनौठौ वृक्ष पूर्वबाट पिपल, दक्षिणबाट बर र पश्चिमबाट भने शमी देखिन्छ । ज्योतिषीय हिसावले यस वृक्षको समीप जानाले राहु, केतु र शनिको प्रभाव कम हुने विश्वास गरिन्छ । इसा पुर्व ४ सयमा वृक्षारोपण भएको हुन सक्ने अनुमान गरिएको नारायण चर्तुव्युह पुजारी बताउनुहुन्छ ।

नारायणहिटी धारामा पानी सुक्नु अघिदेखि नै अस्तित्वमा रहेको यो बृक्ष हालसम्म जस्ताको तस्तै छ । हेर्दा आँखाले नभ्याइने यसको उचाई रहेको छ । यस मन्दिरमा आउने जो कोही यसको बनौटप्रति जिज्ञासु हुन्छन् । नेपालमा पाइने बृक्ष मध्ये बर र पिपल संगसंगै हुने गरेतपनि एउटै जरोबाट तीनवटा बर, पिपल र शमीको एकसाथ संयोगलाई अनौठोसँग हेरिन्छ ।

त्यसो त नारायण मन्दिरभित्र अन्य रुख पनि छन् । शताब्दिर्यौ पुरानो यो वृक्ष जस्ताको जस्तै रहनुलाई वनस्पति विज्ञले पनि अनौठो मानेका छन् । नारायण मन्दिर दर्शन गर्न आउनेलाई महत्व बुझेपछि यो वृृक्षले तान्ने गरेको छ । तीनवटै वृक्ष एकैठाउँमा रहनु र यो वृक्षलाई छोएका खण्डमा मात्रै पनि शनिगृहबाट हुने हानी नोक्सानीबाट बच्न सक्ने विश्वास रही आएको छ । धार्मिक आस्था भएर मात्र होइन, अशान्त मनलाई शान्त बनाउने कडीका रुपमा उपयोगिता रहनुले यस ऐतिहासिक वृक्षको महत्व बढेको छ । यस वृक्षको संरक्षण गरी प्रामाणिक आधारमा यसका विशेषताको सही तथ्य अघि आउन जरुरी छ ।