२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


मधेस प्रदेश : बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि तयार


130
Shares

काठमाडौं । मधेस प्रदेशलाई सन् २०३० सम्ममा बालविवाहमुक्त प्रदेश बनाउने लक्ष्यसहित अगाडि बढेको मधेस प्रदेश सरकारले ल्याउन लागेको बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि, २०८० को मस्यौदामाथि छलफल भएको छ ।

मधेस प्रदेश राजधानी जनकपुरधाममा बिहीबार आयोजित कार्यविधिमाथि सरोकारवालाको राय सुझावसम्बन्धी परामर्श कार्यक्रममा प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले प्रदेशमा बालविवाह समस्या अन्त्यका लागि योजनाबद्धरूपमा कामकाज गर्न कार्यविधिले सघाउ पुर्याउने विश्वास व्यक्त गरे।

वडा तहदेखि नै स्थानीय सरकार र सरोकारवालालाई सक्रिया बनाई बालविवाह रोक्नुपर्ने उद्देश्यसहित मस्यौदा ल्याइएको र यसले तीनै तहका सरकारलाई समन्वयात्मकरूपमा अगाडि बढ्न पनि सघाउ पुग्ने उनको भनाइ थियो ।

मन्त्री यादवले महिलामाथि हुने सबै प्रकारका हिंसा रोकथाम तथा महिलाको स्वास्थ्य, शिक्षामा पहुँच तथा गुणस्तरीय जीवनका लागि बालविवाह अन्त्य गर्न जरुरी रहेकोसमेत बताए ।

शिक्षा तथा समाज कल्याण मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले बालविवाहलाई निरुत्साहित गर्न सरकारले ‘बालविवाह अन्त्यका लागि दशवर्षे रणनीति– २०७९’ ल्याइसकेको र अब कार्यविधिले त्यसलाई मूर्तरुप दिने बताए । उनले प्रस्तावित बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि, २०८० को मस्यौदामाथि सरोकारवालाबाट राय–सुझाव आएपछि अन्तिम रुप दिई वडा तहदेखि नै बालविवाहमुक्त क्षेत्र बनाउने अभियान अगाडि बढाइने बताए ।

कार्यक्रममा सोही मन्त्रालयका उपसचिव देवकुमारी खत्रीले प्रदेश सरकारले बालविवाह रोक्नका लागि बनाएको कार्यविधि, २०८० का विषयवस्तु, त्यसले पार्ने प्रभाव र महत्वका विषयमा जानकारी गराएका थिए । कार्यविधिमा बालविवाहमुक्त क्षेत्र घोषणाका लागि विभिन्न १५ वटा प्रक्रियागत सूचक, १२ वटा मापन सूचक, विभिन्न सरोकारवालाको भूमिका तथा घोषणापछिको रणनीतिलगायतका विषय समेटिएका खत्रीले बताए।

सहभागीहरूले बालविवाहमुक्त प्रदेश बनाउने नीतिलाई दीर्घकालीन र प्रभावकारी बनाउन सामाजिक संवेदनशीलता, शैक्षिक तथा लैङ्गिक समस्यालाई पनि समाधान गर्ने गरी सरकारले कामकारबाही गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।