२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मालबाहक ढुवानी सवारीसाधनले मात्रै सामान बोक्न पाउनुपर्छ : यातायात व्यवसायी


2.99k
Shares

काठमाडौं । यातायात व्यवसायीहरुले प्रयोजन विपरितका सवारी साधनहरुले गरिरहेको मालबाहक ढुवानी तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।

पछिल्लो समय एउटा प्रयोजनको लागि ल्याइएका सवारी साधनहरु मालबाहक वा यात्रुबाहक सवारी साधनको रुपमा प्रयोग बढेको भन्दै त्यस्तो प्रयोग तत्काल रोक्न व्यवसायीहरुले माग गरेका हुन् ।

यातायात व्यवसायीहरुले सरकारले सार्वजनिक यातायात र निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरुमा प्रयोजन अनुसार प्रयोग भए÷नभएको जाँच गरी कारबाही गर्न आग्रह गरेका छन् । उनीहरुले निजी प्रयोजनका लागि दर्ता भएको सवारी साधनले प्रयोजन विपरित यात्रा र ढुवानी सेवा दिन नपाउने कानूनी व्यवस्था रहेको बताए ।

उनीहरुले सार्वजनिक र निजी सवारी साधनको विषयमा स्पष्ट नीति फितलो हुँदा मालबाहक सवारी साधनहरु चल्न नसक्ने अवस्थामा रहेको बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले प्रयोजन विपरित चल्ने सवारी साधनहरुलाई सरकारले कडाई गर्नुपर्ने बताउनुभयो । उहाँले कृषिमा सुविधा लिएर जोत्नको लागि सवारी साधन बनाएकोले कृषिको लागि दर्ता भएको ट्याक्टरले ढुवानी गर्न नपाउने दाबी गर्नुभयो ।

उपाध्यक्ष सिटौलाले बालुवा, गिट्टी, रड र सिमेन्ट बोक्नको लागि ट्याक्टर प्रयोग भइरहेको भन्दै सरकारले तत्काल रोक्नुपर्ने बताउनुभयो । उहाँले निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरुले मालबाहक सवारीका रुपमा ढुवानी गर्न पाउँदैन भनेर महासंघले सबै निकायहरुलाई पत्र पठाएको बताउनुभयो । त्यस्तै उपाध्यक्ष सिटौलाले सरकारले भारतीय मालवाहक सवारी साधनलाई ७२ घण्टाको परमिट सुविधा दिनु गलत भएको बताउनुभयो ।

त्यस्तै, नेपाल यातायात राष्ट्रिय महासंघको मालबाहक समिति सभापति नविन प्रजापतीले नेपालमा दिउँसोको समयमा मालवाहक सवारी साधनहरुलाई सञ्चालनमा प्रतिवन्ध लगाउनु गलत भएको बताउनुभयो । उहाँले मालवाहकका ठूला टिप्परहरु बेलुका ९ बजेबाट बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने व्यवस्था तत्काल खारेज गर्न माग गर्नुभयो ।

त्यस्तै,दाङ ट्याक्टर व्यवसायी ढुवानी सेवा प्रा.लि.का अध्यक्ष चिन्तामणि आचार्यले सार्वजनिक यातायात र निजी सवारी साधनको विषयमा राज्यको नीति नियम नै फितलो रहेको बताउनु भयो । उहाँले विगतमा ७ हेक्टर जमिन देखाएर मात्रै ट्याक्टरहरु खरिद गर्न पाउने व्यवस्था विगतमा रहेको बताउनुभयो उहाँले केही वर्षपछि जग्गाको प्रावधान हटाएर घर धितो राख्दा बैंकले ऋण लगानी गरेर ट्याक्टर बजारमा आएको बताउनुभयो ।

उहाँले जुन प्रयोगको लागि दर्ता भएको सवारी साधन हो त्यही प्रयोजनको लागि प्रयोग गरे मात्रै मालबाहक ढुवानी व्यवसायीका सवारी बाहिर निस्कन पाउने अवस्था रहेको बताउनु भयो । उहाँले जुनसुकै प्रयोजनमा दर्ता भएका सवारी साधनले ढुवानी र यात्रु सेवा दिँदा सार्वजनिक यातायात क्षेत्र मर्कामा पर्ने बताउनुभयो ।