६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सिटिइभिटीका रोकिएका परीक्षा सञ्चालन गर्न छलफल भइरहेको छ : शिक्षामन्त्री राई


299
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को रोकिएका परीक्षाहरु सञ्चालन गर्न छलफल भइरहेको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को विवादका कारण रोकिएका परिक्षाहरु सञ्चालनका गर्नका लागि छलफल भइरहेको बताउनुभएको हो । उहाँले परीक्षा गर्ने वातावरण बनाउनका लागि मन्त्रालय, चिकित्सा शिक्षा आयोग र सिटिइभिटीका बिचमा छलफल भइरहेको स्पष्ट पार्नुभयो ।

मन्त्री राईले आयोगले जाँचबुझ गरी कोटा निर्धारण गरेर परीक्षा लिने अवस्थासम्म पुर्‍याउने उहाँको भनाई छ । सिटिइभिटीको बैठक बसेर स्तरोन्नति हुन चाहेका कलेजहरुको सम्बन्धमा निर्णय गरेर आयोग समक्ष पठाइने पनि उहाँले बताउनुभयो । उहाँले नर्स तथा स्वास्थ्यकर्मीको जनशक्ति उत्पादनका लागि नीतिगत तहमै अध्ययन गर्नुपर्ने पनि बताउनुभयो ।

मन्त्री राईले संघीय शिक्षा ऐनमार्फत प्राविधिक शिक्षामा प्रदेश सरकारलाई जिम्मेवार बनाइने बताउनुभयो । उहाँले संघीय सरकारले भने शिक्षाको गुणस्तरलाई हेर्ने, पाठ्यक्रमहरु बनाउने, तालिमहरु दिने खालको सोच राखिएको पनि बताउनुभयो ।