
काठमाडौं । बागमती प्रदेशसभाको बैठक नै बस्न नसकेपछि आइतबार सर्वदलीय बैठक डाकिएको छ ।
प्रदेशसभाका सभामुख भुवन पाठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुको बैठक डाक्नुभएको हो । आइतबार बिहान १० बजे बस्ने बैठकमा प्रदेशसभा सञ्चालनमा भइरहेको समस्या समाधानको उपाय खोज्ने बताइएको छ ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूका संसदीय दलका नेता, सचेतक तथा प्रतिनिधिहरूलाई बैठकमा बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । सहमतिज जुटेमा आइतबार ११ बजे प्रदेशसभाको बैठक राख्ने तयारीमा पनि प्रदेश सचिवालय रहेको बुझिएको छ ।
चालु आर्थिक वर्षको बजेट पारित गर्ने क्रममा विपक्षी दलहरूसँग गरेको सहमति कार्यान्वयन नभएसम्म प्रदेशसभा अघि बढ्न नदिने अडान एमाले र राप्रपाले राखेका छन् । जसका कारण विगत दुई महिनादेखि प्रदेशसभा बैठक नै बस्न सकेको छैन ।
एमालेलाई ४५ करोड रुपैयाँ र राप्रपालाई २५ करोड रुपैयाँको योजना तथा कार्यक्रम बजेटमा समावेश गर्ने गरी मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेकोमा सो सम्झौता कार्यान्वयन नभएको गुनासो एमाले र राप्रपाको रहेको छ ।
प्रतिक्रिया दिनुहोस्