१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कान्ति अस्पतालमा बालिका मृत्यु प्रकरणमा दोषीलाई कारबाही हुन्छ : मन्त्री बस्नेत


91
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणको छानबिन गरी दोषिउपर कारबाही हुने बताउनुभएको छ ।

इजिप्टको राजधानी कयरोमा सम्पन्न भएको जनसंख्या, स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आईतबार काठमाडौं आइपुग्नुभएका मन्त्री बस्नेतले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताउनुभएको हो ।

केही दिन अघि कान्ति बाल अस्पतालमा पाँच वर्षीया रेजिशा गोपालीको इमर्जेन्सीमा उपचार नपाएर मृत्यु भएको खबर सञ्चारमाध्यमहरुमा आएको थियो । उहाँले आफू विदेशमा भएको बेलामा पनि सो घटनालाई चासोका साथ हेरेको र स्वास्थ्य सचिवलाई फोन गरेर घटनाबारेमा बुझेको बताउनुभयो । उहाँले यस घटनाको छानबिन गर्न छानबिन समिति गठन भएको र गल्ती गर्नेहरुलाई कारबाही गरिने स्पष्ट पार्नुभयो ।

मन्त्री बस्नेतले इजिप्टमा भएको कार्यक्रममा बसाइँसराई र अव्यवस्थित बसोबासका दृष्टिले स्वास्थ्य क्षेत्रमा परेका समस्याहरुको बारेमा छलफल भएको बताउनुभयो । त्यसैगरी आधारभुत स्वास्थ्य सेवा दिने कुरालाई व्यवस्थित गर्ने रणनीतिको सम्बन्धमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

यस्तै, जनसंख्या र स्वास्थ्य सेवालाई सँगसँगै लिएर जान सकिएन भने विकास पनि सम्भव छैन भन्ने विषयमा छलफल भएको मन्त्री बस्नेतको भनाई छ । कार्यक्रममा विभिन्न देशका स्वास्थ्य मन्त्री तथा विभिन्न दातृ संस्था र निकायहरुका प्रतिनिधिहरु सम्मिलित रहेको उहाँले जानकारी दिनुभयो ।