१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


बीपीको राजनीतिक चिन्तनबाट नै मुलुकलाई समृद्ध बनाउँछौँ : कांग्रेस सभापति देउवा


208
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपीको राजनीतिक चिन्तनबाट नै मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको बताउनुभएको छ ।

आइतवार कांग्रेस संस्थापक नेता बीपी कोईरालाको ११० औं जन्म जयन्तीका अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित बीपी साहित्य महोत्सव कार्यक्रममा देउवाले बिपीको राजनीतिक चिन्तनले देखाएको मार्गमै आफूहरु हिँडिरहेको बताउनुभएको हो । उहाँले आजको युवा पुस्तालाई पनि बिपीका बारेमा गहिरो ज्ञान बाँड्न महोत्सव महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । सभापति देउवाले नेपालका सबै राजनैतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि बिपीको विचारमा आकर्षित मात्रै नभइ अनुकरण पनि गर्दै आएको दाबी गर्नुभयो । उहाँले आफ्नो राजनीतिक प्रेरणाको स्रोत बिपी नै रहेको बताउनु भयो । उहाँले आज नेपाली काँग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मुल सिद्धान्त र आर्दश कायम गरेर अघि बढेको बताउनु भयो । उहाँले समयको अन्तरालसँगै आज मुलुक पनि बिपीले देखाएको प्रणालीमा अघि बढेको तर विभिन्न कारणले स्थायित्व नपाएको गुनासो गर्नुभयो ।

सभापति देउवाले नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमानै लेखेको भएपनि यसको मर्म अनुसार अभ्यास गर्न नपाएको बताउनु भयो । उहाँले नागरिकका कैयौं अभाव, समस्या, असन्तुष्टी र समाजमा देखिएका विभेद विसंगतिलाई बीपीको आर्थिक, सामाजिक तथा धार्मिक सांस्कृतिक एवं राजनीतिक विचारले समाधान दिनसक्छ भन्ने दृढ विश्वास हुँदाहुदै पनि उहाँको विचारलाई हरेक पुस्ताका नागरिकहरू बीच पर्याप्त वहस र छलफल गराउन नसक्नु आफूहरुको कमजोरी रहेको बताउनु भयो ।

सभापति देउवाले बीपी राष्ट्रिय मात्रै नभइ अन्तर्राष्ट्रिय तहको नेता, राजनैतिक विचारक र साहित्यकार भएको बताउनु भयो ।सभापति देउवाले अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा बीपी सबैको सह–अस्तित्व र सम्मानलाई उच्च मान्यतामा राख्दै राज्यको सीमा र सार्वभैमिकताका लागि सबै छिमेकी मित्रराष्ट्रका समकक्षीहरुसँग मित्रवत ढंगले स्वाभिमानका साथ आफ्नो मुलुकका पक्षमा बोल्नुहुने व्यक्ति रहेको बताउनु भयो ।

बिपी कोईरालाको ११० औं जन्मजयन्तीको अवसरमा ११० वटा बेलुन उडाएर बीपी जयन्ती मनाइएको छ । बीपीका साहित्य, राजनीति, दर्शन, कूटनीति, अर्थ राजनीति, विदेशनीतिका विषयमा बहस हुनेछ । महोत्सवमा १५ सेसन चल्नेछन् ।