१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


सुदूरपश्चिमको राजधानी र नाम फेर्न कसरत


8.996k
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशको राजधानी र नाम फेर्न कसरत थालिएको छ ।

तत्कालीन नेकपाको पहिलो प्रदेश सरकारले तोकेको प्रदेशको राजधानी गोदावरी र नाम सुदूरश्चिम प्रदेश फेर्न वर्तमान नेपाली कांग्रेस नेतृत्वको सरकारले छलफल थालेको हो ।

सुदूरपश्चिम प्रदेशमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारले तोकेको राजधानी र नाममा नेपाली कांग्रेसले त्यतिबेलै विरोध जनाएर सडकमा उत्रेको थियो । तर, नेकपासँग दुईतिहाइ बहुमत भएपछि २०७५ असोज १२ गते बसेको प्रदेशसभाको दोस्रो अधिवेशनको ४५ औँ बैठकले प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको वडा नं २ र ४ को क्षेत्रमा बनाउने र नाम सुदूरपश्चिम प्रदेश राख्ने प्रस्ताव पारित गरेको थियो । प्रदेशको राजधानी र नाममा असहमति जनाएको कांग्रेस नेतृत्वको वर्तमान गठबन्धन सरकारले राजधानी र नाम फेर्न भित्रभित्रै छलफल थालेको छ ।

५३ सदस्यीय प्रदेशसभामा कांग्रेस नेतृत्वको गठबन्धन सरकारको बहुमत रहेको छ । बिपक्षमा नेकपा (एमाले) का १० जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना र स्वतन्त्र १ गरी १२ जना सांसद मात्र रहेका छन् । गठबन्धन सरकारले चाहेमा प्रदेश राजधानी र नाम फेर्न स्पष्ट बहुमत रहेकाले यसको कसरत थालेको हो । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबाहदुर शाह राजधानी क्षेत्र बिस्तार गर्ने विषयमा बन मन्त्रालय लगायत सरोकारवालासँग मन्त्रालयसँग छलफल गर्ने र त्यसमा केही समस्या देखिएमा विकल्प पनि सोच्नुपर्ने बताउनुहुन्छ।

मुख्यमन्त्री शाहले राजधानी सार्न सक्ने संकेत दिनुभन्दा अघि नै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले यस विषयमा छलफल चलाउनु भएको थियो । केही समयअघि मन्त्री देउवाले धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला राना र गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टसँग यस विषयमा छलफल गर्नुभएको थियो । तर त्यसमा ठोस सहमति नभएको बताइएको छ ।

एउटा संसदले पारित गरेको राजधानीको नाम र क्षेत्रलाई अर्को संसद आउने बित्तिक्कै परिवर्तन गर्न खोज्नु स्थायीत्व विपरित हुने विपक्षी दल नेकपा एमालेका प्रदेश सभा सदस्य धर्म पाठकको भनाई छ । राजधानी तोकिएको क्षेत्र गोदावरीको सम्भाव्यता अध्ययनमै करोडौँ खर्च गरेर फेरी अन्तै राजधानी बनाउन खोज्नुले खर्च बढाउने काम बाहेक उपलब्धी नहुने प्रमुख प्रतिपक्षी दल एमालेका प्रदेश सभा सदस्य पाठक बताउनुहुन्छ ।

अहिले आएर राजधानी सार्न खोज्नुले यहाँका नागरिक पनि सशंकित भएका छन् । राजधानी तोक्ने र त्यसको सम्भाव्यता अध्ययन लगायतका शिर्षकमा खर्च गरेर फाइदा लिने परिपाटी रोकी धनगढीमै रहेका संरचनाको प्रयोग गर्दै स्थायी राजधानी तोक्नुको विकल्प नरहेको कैलालीका स्थानीय खेमराज श्रेष्ठको भनाई छ ।

नेपाली कांग्रेसले गोदावरीको विकल्पमा राजधानीका लागि छलफल चलाइरहँदा टीकापुर हत्याकाण्डमा राष्ट्रपतिबाट माफी पाएका रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पनि प्रदेशको नाम खप्तड थारुहट प्रदेश राख्नुपर्ने अडान राखेको छ । सत्तामा रहेका दलहरु राजधानी र नामकै मुद्दामा फरक किसिमले प्रस्तुत भइरहँदा फेरी नामकै कारण विभाजित हुने सम्भावना रहन्छ ।