
काठमाडौं । महिला अधिकारकर्मीहरुले घरेलु श्रमिक महिलाहरुको अदृश्य श्रमलाई दृश्य बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
आइतबार काठमाडौंमा घरेलु श्रमिकको अधिकार, पहिचान र सुनिश्चितता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महिला अधिकारकर्मीहरुले घरेलु महिला श्रमिकको आवाज बुलन्द बनाउनुपर्ने बताए ।
उनीहरुले सबैभन्दा पहिला स्थानीय निकायमा घरेलु महिला श्रमीकहरुलाई सूचिकृत गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै तरङ्गिणी फाउण्डेशनकी मनोविमर्श कर्ता रुपा भट्टराईले घरेलु महिला श्रमीकको श्रम अदृश्य रहेको र त्यसलाई दृश्य बनाउने प्रयासमा आफूहरु लागेको बताउनुभयो ।
उहाँले घरेलु पनि श्रम नै भएकाले स्थानीय तहले घरेलु श्रमलाई सूचिकृत गर्नुपर्ने बताउनुभयो । उहाँले घरेलु श्रमिकलाई मान्यता दिने काम राष्ट्रिय स्तरबाट शुरु गरिनुपर्ने बताउनुभयो । उहाँले काठमाडौं महानगरभित्रका केही वडाका महिला घरेलु श्रमीकको तथ्यांकसमेत आफूहरुले जम्मा पारेको उल्लेख गर्दै स्थानीय निकायहरुले पनि यसमा सहयोग गर्ने हो भने तथ्यांक संकलन गर्न सहज हुने बताउनुभयो । उहाँले घरेलु श्रमीकलाई झर्किने, कामको सम्मान नगर्ने लगायतका समस्या रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले घरेलु महिलाको अदृश्य श्रमलाई दृश्य बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले अदृश्य श्रमलाई दृश्य र पहिचानमा ल्याउन सम्भव रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरुले श्रम बजारमा महिलाको सहभागिता बढाउने र सहभागिता भइसकेकाको पहिचान बढाउने खालको काममा जुट्नुपर्ने आवश्यकता रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्