
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरु वैदेशिक रोजगारीका लागि जाने श्रम गन्तव्य मुलुकका राजदूतहरुसँग छलफल गर्दै हुनुहुन्छ ।
सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार र मङ्गलबार हुने छलफलका लागि गन्तव्य देशका राजदूत र नियोग प्रमुख काठमाडौं आइसकेका छन्।
नेपाली श्रमिकहरुको सुरक्षा र मानव तस्करी रोक्ने विषयमा श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखसँग छलफल गर्न लाग्नुभएको हो । दुई दिवसीय बैठकमा श्रम आप्रवासनका सवालहरू र कूटनैतिक नियोगको भूमिकालगायतका विषय छलफल हुने जनाइएको छ ।
श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्ने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
विभिन्न माध्यम र तरिकाले भइरहेको मानव तस्करीलाई रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ ।
प्रतिक्रिया दिनुहोस्