१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


औषधि उपचारमा सहज हुनेगरी परिचय पत्रको व्यवस्था गरिदिन सरकारसँग जलन पीडितको माग


676
Shares

काठमाडौं । जलन पीडितहरुले औषधि उपचारमा सहज हुनेगरी आवश्यक परिचय पत्रको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् ।

आइतबार एमालेले ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सो कानुन सार्वजनिक गरेको दिनको स्मरणमा आयोजित कार्यक्रममा बोल्दै पीडितहरुले तेजावविरुद्ध कडा कानून ल्याएकोमा तत्कालीन केपी ओली नेतृत्वको सरकारप्रति आभार व्यक्त गरेका हुन् ।

केपी ओली नेतृत्वको तत्कालीन सरकारले २०७७ साल भदौं २५ गते नेपालमा तेजावविरुद्धको कडा कानून बनाएकोमा खुशी व्यक्त गर्दै पीडितहरुले सो सरकारलाई धन्यवाद दिए । पीडित मुस्कान खातुनले आफूहरुले भेटेको १५ दिन भित्र तेजाव आक्रमणविरुद्ध कडा कानून ल्याएको भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार गर्नुभयो । उहाँले आफूहरुलाई औषधि उपचारमा सहज हुनेगरी आवश्यक परिचय पत्रको व्यवस्था गरिदिन पनि सरकारसँग माग गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समेत रहनुभएकी तेजाव आक्रमण पीडित विन्दबासिनी कंसाकारले तेजावविरुद्ध कडा कानून बनाउने काम गरेको भन्दै ओली नेतृत्वको तत्कालिन सरकारलाई धन्यवाद दिनुभयो । उहाँले सो कानुनको कार्यान्वयन गर्न भने सरकारलाई सचेत गराउनुभयो । उहाँले आफूले पनि सांसदको रुपमा र आफ्नो पार्टीले पनि सो कानूनको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उनीहरुले जलन पीडित सबैलाई उत्तिकै साथ दिन पनि सरकारलाई आग्रह पनि गरेका छन । जलन पीडित जेनी खड्काले तेजाव आक्रमणलाई मात्र नभई जलन पीडित सबैलाई समान व्यवहार गरिदिन आग्रह गर्नुभयो । उहाँले आफूहरुका लागि औषधि उपचारमा सहज हुने गरी आवश्यक व्यवस्था पनि मिलाउनुपर्ने बताउनुभयो ।

केपी ओली नेतृत्वको सरकारले पीडितहरुसँग छलफल गरी २०७७ साल भदौ २५ गते अर्थात् आजनै दिन तेजाव आक्रमणविरुद्ध कडा कानून निर्माण गरेको थियो । सोही दिनलाई एमालेले तेजाव आक्रमणविरुद्ध जागरण दिवसको रुपमा मनाउने अभियान अन्तरगत पीडितहरुलाई भेला गरी उनीहरुको गुनासो सुनुवाइ गरेको हो ।