१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


‘संविधान सभाको पर्यायवाची नेम्वाङ’


728
Shares

काठमाडौं । मंगलवार बिहान निधन हुनुभएका संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि ललितपुरस्थित एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ ।

उहाँप्रति श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु पुगेका छन् । नेम्वाङलाई श्रद्धाञ्जली दिन पुग्नुभएका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उहाँ नेपाली राजनीतिमा अत्यन्तै सन्तुलनकारी भूमिका खेल्ने व्यक्ति भएको बताउनु भयो । नेम्वाङ संयमित ढंगले प्रतिकुलताहरुलाई अनुकुलतामा बदल्ने नेताको रुपमा रहेको पोखरेलले उल्लेख गर्नुभयो । पार्टीभित्र नेम्वाङलाई सम्मानका साथ हेरिने गरेको उहाँले बताउनु भयो । नेम्वाङ जहिल्यैपनि समस्याहरुलाई सुल्झाउनेगरी प्रस्तुत हुने गरेको उहाँले स्मरण गर्नुभयो ।

त्यस्तै पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले आफू सभामुख रहेका बखत नेम्वाङसँग दैनिक छलफल गर्ने गरेको बताउनु भयो । उहाँले नेम्वाङले रचनात्मक, सिर्जनात्मक र परिपक्व सल्लाह दिने गरेको स्मरण गर्नुभयो । सापकोटाले कम्युनिष्ट पार्टीको पुनःगठनको आवश्यकता भएको बेलामा नेम्वाङजस्तो समन्वयकारी व्यक्तित्व गुमाउनुपरेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले सुवास नेम्वाङ संविधानसभाको पर्यायवाचीको रुपमा रहनुभएको बताउनु भयो । नेम्वाङ एउटै कम्युनिष्ट आन्दोलन र एउटै कम्युनिष्ट पार्टी चाहने व्यक्ति भएको पनि उहाँको भनाई छ ।

नेकपा एमालेका सांसद सूर्य थापाले सुवास चन्द्र नेम्वाङले राष्ट्रिय राजनीतिमा आफूलाई सहमतिको मियोको रुपमा प्रस्तुत गर्नुभएको बताउनु भयो ।

नेम्वाङले तमाम खालका द्वन्द्व र विमतिहरुलाई सहमतिका साथ निचोड र निष्कर्षमा पुर्‍याउने कामको नेतृत्व गर्नभएको उहाँले बताउनु भयो । समकालिन राजनीतिमा नेम्वाङजस्तो अर्को पात्र नभएको उहाँको भनाई छ ।

नेम्वाङबाट संसदीय राजनीतिको सम्बन्धमा आफूजस्ता नयाँ सांसदहरुले सिक्नुपर्ने कुराहरु धेरै रहेको उहाँले बताउनु भयो ।