
काठमाडौं । नियमाक निकायहरुले निजी क्षेत्रका सुझावहरुलाई सम्बोधन गर्न नसक्दा अर्थतन्त्र मन्दीमा गएको निजी क्षेत्रको दाबी रहेको छ ।
मंगलबार काठमाडौंमा १५ औँ संस्करणको नाडा अटो शो, २०२३ उद्घाटन कार्यक्रममा बोल्दै निजी क्षेत्रका तीन छाता सङ्गठनका अध्यक्षहरुले यस्तो दाबी गरेका हुन् । उनीहरुले सरकारले निजी क्षेत्रको माग अनुसार नीतिहरु बनाउन चाहेपनि नियमनकारी निकाय राष्ट्र बैंकले आफूखुशी नीतिहरु बनाइरहेको आरोप लगाए ।
राष्ट्र बैंकले निजी क्षेत्रले मुलुकको लागि भन्दा पनि आफ्ना लागि मात्रै सुझावहरु दिएको भन्ने मान्यताका आधारमा नीतिहरु बनाएको भन्दै असन्तुष्ट जनाए । उनीहरुले राष्ट्र बैंकले चालु पुँजी कर्जा निर्देशिका संशोधन तथा एकीकृत निर्देशन निजी क्षेत्रको सुझाव भन्दा फरक आएको बताए । निजी क्षेत्रले दिइने सुझावहरु व्यवसायीहरुको हीतमा भन्दा पनि मुलुकको अर्थतन्त्र चलायमान बनाउने विषयमा केन्द्रीत भएको दिने गरेको दाबी उनीहरुको छ । निजी क्षेत्रले दिएका सुझावहरुलाई सरकार र नियमनकारी निकाय राष्ट्र बैंकले सम्बोधन नगर्दा मुलुक आर्थिक मन्दितर्फ उन्मुख भएको बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले ल्याउने हरेक नीतिहरुमा निजी क्षेत्रको सुझावलाई बेवास्था गरिएको बताउनुभयो । उहाँले निजी क्षेत्रले दिने सुझावहरु व्यवसायीहरुको हीतमा मात्रै रहेको जस्तो मान्यतामा राष्ट्र बैंक रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रले दिने सुझावहरु निजी क्षेत्रका व्यवसायीहरुको हीतमा मात्रै नभएर चुनौतिपूर्ण अर्थतन्त्र चलायमान बनाउने गरी दिने गरेको दाबी गर्नुभयो । अध्यक्ष ढकालले नियमनकारी निकायहरुले ल्याएका नीतिहरु समन्वय गरेर भन्दा पनि संस्था प्रधान भएर ल्याएको उल्लेख गर्नुभयो ।
उहाँले श्रीलंकको क्रास देखाएर ल्याएका नीतिहरु र आयात प्रतिवन्ध लगाउने विगतका नीतिहरु एक पक्षीय भएको बताउनुभयो । उहाँले एकपक्षिय भएर ल्याएका नीतिको कारण अर्थतन्त्रमा अहिले समस्या देखिएको बताउनुभयो । उहाँले अटो मोबाइल क्षेत्रको कारोबार खुम्चिएको कारण पनि ५० प्रतिशत राजश्व संकलन कम भएको बताउनुभयो । उहाँले सरकार र नियमनकारी निकाय राष्ट्र बैंकले निजी क्षेत्रले राखेका मागहरु निजी क्षेत्रका लागि मात्रै नभएर समग्र मुलुकको अर्थतन्त्र चलायमान बनाउने भएकाले गम्भिर रुपमा लिएर त्यही अनुसार नीति बनाउन आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्