
काठमाडौं । लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।
स्वर्गीय पराजुलीको मंगलबार अपरान्ह अन्त्यष्टि गरिएको हो ।
निमोनियाका कारण ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचारको क्रममा उहाँको आज बिहान निधन भएको थियो । साहित्यकार पराजुली कथा, उपन्यास र कविता तीन वटै विधामा कलम चलाउनु हुन्थ्यो । उहाँले केही समय अघि मात्रै कथासंग्रह जन्तरमन्तर प्रकाशित गर्नुभएको थियो ।
उहाँका अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा माक्र्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन् । पत्रकारको रुपमा उहाँले राजधानी, नेपाल समाचारपत्र, नागरिक र आर्थिक दैनिक पत्रिका तथा बाह्रखरीलगायतका अनलाइनमा पनि काम गर्नुभएको थियो ।
यसैबीच, साहित्यकारहरुले उहाँलाई समाजप्रति प्रतिवद्ध साहित्यकार र लेखकको रुपमा चित्रण गर्नुभएको छ । साहित्यकार श्यामलले समाजको अन्तरकुन्तरमा पुगेर पात्रको चयन गरी साहित्य सृजना गर्नसक्ने साहित्यकारको रुपमा उहाँ रहनुभएको बताउनुभयो । उहाँ आफ्ना साहित्य रचनाहरुमा प्रश्तुत गरेका पात्रकै कारण लोकप्रिय हुनुभएको पनि श्यामलले बताउनुभयो ।
कवि गोपालप्रसाद पराजुलीले साहित्यकार राजेन्द्र नेपाली साहित्यले कदर गर्न योग्य पात्र भएको बताउनु भयो । कविता, कथा र उपन्यासका तीन वटै विधामा कलम चलाउन सक्ने उहाँ गतिशील साहित्यकारको रुपमा पनि स्थापित हुनुभएको उहाँले बताउनुभयो ।
लेखक तथा साहित्यकार अभय श्रेष्ठले स्वर्गीय पराजुलीमा साहित्यको अतिरिक्त राजनीति र अर्थ क्षेत्रमा पनि राम्रो दख्खल राख्ने गरेको बताउनुभयो । उहाँले पत्रकारको रुपमा पराजुलीले आफूले देखेको कुरामा सम्झौता नगर्ने निडरता प्रर्दशन गरेको पनि बताउनुभयो ।
साहित्यकारहरुले नेपाली मिडियामा साहित्य सृजनालाई प्राथमिकतामा साथ प्रकाशन तथा प्रशारण गराउन पनि स्वर्गीय पराजुलीले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्