
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सर्वसाधरणको मनोबल बढाउने नीति ल्याए अर्थतन्त्रको समस्या कम हुनसक्ने बताउनुभएको छ ।
बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकार र नियमनकारी निकायहरुले उद्योगी व्यवसायी र जनतालाई आत्मविश्वास बढाउने नीति ल्याएर अर्थतन्त्रका वर्तमान समस्या समाधान उन्मुख हुने बताउनुभएको हो ।
उहाँले पछिल्लो समय सरकार नियमकारी निकायहरुले निजी क्षेत्रले उठाउँदै आएका समस्या र मागका विषयमा बेवास्था गर्दा अर्थतन्त्रमा समस्या देखिएको बताउनुभयो । अध्यक्ष ढकालले सरकारले उद्योगी व्यवसायी र जनतालाई सकारात्मक बनाउने गरी नीति नल्याएसम्म अर्थतन्त्रमा समस्या समाधान हुन नसक्ने दाबी गर्नुभयो ।
अध्यक्ष ढकालले नियमनकारी निकाय राष्ट्र बैंकले मौद्रिक नीति र सरकारले बजेटमा निजी क्षेत्रको माग सम्बोधन गर्न नसक्दा अर्थतन्त्रमा प्रभाव परेको धारणा राख्नुभयो । उहाँले निजी क्षेत्रका तीन वटा संस्थाहरुले सरकारले ल्याउने बजेट र मौद्रिक नीतिमा एउटै स्वरमा सुझावहरु दिँदा समेत कार्यान्वयनमा आउन नसक्नु भनेको सरकारको निजी क्षेत्रलाई हेर्नु दृष्टिकोण सकारत्मक नहुनु भएको बताउनुभयो ।
अध्यक्ष ढकालले पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिएको बताउनुभयो । उहाँले रेमिट्यान्स,पर्यटन आगमन र बैंकिङ तरलतामा सहजता आएको बताउनुभयो । उहाँले अर्थतन्त्रका आयामहरुमा सकारात्मक संकेत देखिएको भन्दै सरकारले सबैको मनोबल उच्च बनाउने गरी नीतिहरु ल्याउन आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्