२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

‘संसदमा आजैबाट नेम्वाङको अभाव खड्किसक्यो’


663
Shares

काठमाडौं । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख स्वर्गिय सुवासचन्द्र नेम्वाङको अभाव खड्किसक्योको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले प्रतिनिधि सभा बैठकमा स्व. नेम्वाङको अभाव आजैको बैठकबाट सुरु भइसकेको बताउनुभएको हो । उहाँले नेपाली राजनीतिले उहाँको अभावको क्षतिपूर्ति गर्न लामो समय कुर्नुपर्ने बताउनुभयो ।

सचेतक बर्तौलाले नेम्वाङ राजनीतिलाई निष्टा र संस्कृतिका साथ अगाडि बढाउनुपर्छ भन्ने वकालत गर्ने पात्र भएको बताउनुभयो । त्याग, निष्ठा, लगनशीलता, सहनशीलता र धैर्यताका साथ असहजतालाई पार लगाउनुपर्छ भन्ने नेम्वाङको मान्यता रहेको उहाँले बताउनुभयो ।

नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले नेम्वाङको शालिन व्यवहारका कारण संविधान सभा तथा संसदमा सबैलाई मिलाएर जान सकेको बताउनुभयो । शालिन व्यवहार प्रस्तुत गर्दै सबै पार्टीलाई विषयवस्तुमा केन्द्रित गराएर छलफल गर्नसक्ने क्षमता उहाँमा रहेको भन्दै पाण्डेले नेम्वाङको स्मरण गर्नुभयो ।

त्यस्तै, नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेपालका कम्युनिस्ट तथा वामपन्थी आन्दोलनलाई एकै ठाउँमा राख्नुपर्छ भन्ने कुरामा नेम्वाङले जोड दिने गर्नुभएको बताउनुभयो । कम्युनिस्टहरु मिलेर जानुको विकल्प छैन भन्ने कुरामा उहाँ दृढ रहेको पौडेलको भनाई छ ।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देशमा शान्ति प्रक्रियाको काम टुंगिन बाँकी रहेको उल्लेख गर्दै नेम्वाङ जीवित भइदिएको भए शान्ति प्रक्रिया टुंग्याउन र संविधान कार्यान्वयन गर्न उहाँको विशेष भुमिका हुने बताउनुभयो । नेम्वाङले जातिय र धार्मिक मुद्दाको आधारमा नभइ लोकतान्त्रिक विधि र पद्धतिको आधारमा प्रतिष्पर्धा गर्नुपर्छ भन्ने विश्वास बोकेको उहाँको भनाई छ । नेपालको तत्कालिक राजनीतिमा उहाँ जत्तिको समन्वयकारी भुमिका गर्ने नेता भेट्न गाह्रो पर्ने सांसद पौडेलको भनाई छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेम्वाङ राजनीतिमा सहमति, समन्वय गरेर अगाडी बढाउने व्यक्ति भएको बताउनुभयो । राष्ट्रिय मुद्दाहरुमा सबैजना एक ठाउँमा बसेर काम गर्नुपर्छ भन्ने धारणा नेम्वाङमा रहेको उहाँले उल्लेख गर्नुभयो ।

नेकपा(एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले असहज परिस्थितिमा खुट्टा कमाइदिएको भए संविधान सभाबाट संविधान जारी नहुने बताउनुभयो । कम्युनिस्ट पार्टीहरु एकतावद्ध भएर अगाडि बढ्नुपर्ने नेम्वाङको धारणा रहेको उहाँले बताउनुभयो । सांसद श्रेष्ठले संसदीय काम, कारबाहीमा आफूहरुले नबुझेका कुरा सोध्दा स्व. नेम्वाङले झर्को नमानिकन सिकाउने गरेको स्मरण गर्नुभयो ।