१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री दाहाल अमेरिका हुँदै चीन जानु उपयुक्त हुँदैन : सांसद पन्त


1.014k
Shares

काठमाडौं । नेकपा(एमाले)का सांसद रघुजी पन्तले प्रधामन्त्रीको चिन भ्रमणमा नेपाल-चिन विद्युत व्यापारको विषयमा छलफल गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले नेपालको विद्युत व्यापार भारतसँग निर्भर रहँदा भारतले दवावमा राख्नसक्ने भन्दै चीनसँग पनि व्यापार गर्नुपर्ने बताउनुभयो । उहाँले चीनसँग विद्युत व्यापार गर्ने सम्बन्धमा प्रधानमन्त्रीको भ्रमणको बेलामा छलफल गर्नुपर्ने बताउनुभयो । त्यस्तै, बिआरआई परियोजनालाई पनि अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो । सांसद पन्तले प्रधानमन्त्रीले अमेरिका हुँदै चीन जानु उपयुक्त नहुने पनि बताउनुभयो । त्यसैगरी चीनसँग ३/४ वटा नाका खोल्नुपर्ने पनि उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले भ्रमणका बेलामा प्रधानमन्त्रीले देशको राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकतालाई असर नगर्ने गरी काम गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाली भुमिको सम्बन्धमा पनि कुटनीतिक रुपमा स्पष्ट रुपमा कुरा गर्नपर्ने बताउनुभयो । प्रधानमन्त्रीको भ्रमणपछि तेल र रेलको समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्रीले यस भ्रमणका क्रममा नेपाल–चीन नाका खोल्ने विषयमा निर्णय हुने बताउनुभयो । उहाँले व्यापारको विषयमा पनि छलफल हुने बताउनुभयो । त्यस्तै, देशको राष्ट्रियतालाई ख्याल गर्दै अन्य छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धहरुलाई पनि सुुमधुर, सन्तुलित रुपमा राख्ने हिसाबले चिनियाँ पक्षसँग छलफल र सम्झौताहरु हुने बताउनुभयो ।

त्यस्तै, नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीको चीन भ्रमणको बेलामा सीमा सम्बन्धी समस्या समाधान गर्ने विषयमा पनि छलफल हुने बताउनु भयो । नेपालको चुच्चे नक्शाको सन्दर्भमा पनि चिनियाँ पक्षसँग छलफल हुने र प्रधानमन्त्रीले उनीहरुलाई सो कुराको बोध गराउने उहाँले बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीलाई नेपालको चुच्चे नक्शाको कुरा नटुंग्याइ चीन भ्रमण नजान सुझाव दिनुभयो । उहाँले हङकङ ट्रान्जिटमा नेपाल एयरलाइन्सले प्यासेन्जर बोक्न नपाएको भन्दै सो समस्या समाधान गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

शाहीले हङकङस्थित महावाणिज्य दुतावासले धेरै रकम कोठाभाडा बापत तिर्नुपरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।