
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवहारिक र नीतिगत सुधार गर्न नसके मुलुकको अर्थतन्त्र सुधार गर्न चुनौति रहेको बताउनुभएको छ ।
शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्र अहिले पनि केही नीतिगत र व्यवहारिक सुधारका गम्भीर कदम आवश्यक रहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सरकारले अर्थतन्त्र सुधारको लागि गरेका प्रयासहरु पर्याप्त नभएको समेत स्वीकार गर्नुभयो । उहाँले नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, सरकारको वित्तीय नीति र निजी क्षेत्रको चाहना बीचमा समुचित तालमेल गर्न चुनौति सरकारलाई रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको हैसियतले लगातार मौद्रिक,वित्तीय नीति र निजी क्षेत्रको बीचमा तालमेल मिलाउन धेरै प्रयास र बैठकहरु गर्दै आएपनि सफल नभएको गुनासो गर्नुभयो । उहाँले पछिल्लो समय अर्थतन्त्रमा केही मात्रा सुधार भइरहेको दाबी गर्नुभयो । प्रधानमन्त्री दाहालले अर्थतन्त्रको आजको आवश्यकता अनुसारको मौद्रिक नीति, वित्तीय नीतिको समग्र सोच र कार्यशैलीमा धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सरकारको पहिलो प्राथमिकता आर्थिक रुपान्तरण भएको बताउनुभयो । उहाँले सरकारको आर्थिक समृद्धिको चाहना पूरा गर्न तथा आत्मनिर्भर अर्थतन्त्रमा सहयोग गर्ने उद्देश्यले परिसंघले सुरु गरेको मेक इन नेपाल स्वदेशी अभियान आफैमा महत्वपूर्ण अभियान भएको भन्दै मेक इन नेपाललाई नेपाल सरकारले पनि अपनत्व दिएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले मेक इन नेपाल अभियानमार्फत औद्योगिककरण उत्पादन वृद्धि स्वदेशी वस्तु तथा सेवाहरुको गुणस्तर वृद्धि तथा निर्यात प्रवद्र्धन गर्दै अर्थतन्त्रको सवलिकरणमा सहयोग पुग्ने अपेक्षा रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रसँगको सहकार्यबाट दिगोविकास हासिल गर्न सकिन्छ भन्ने सरकार स्पष्ट रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्