१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री दाहाल आज अमेरिका जाँदै


273
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार अमेरिका जाँदै हुनुहुन्छ ।

सेप्टेम्बर १८ देखि २६ सम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल अमेरिका जान लाग्नुभएको हो ।

प्रधानमन्त्री दाहाल शनिबार साँझ ६ बजे कतार एअरलाइन्सको विमानबाट न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले २१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुनेछ । राष्ट्रसंघको महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै प्रधानमन्त्री दाहाल १९ सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्वकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहनेछ । प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाट सीधै चीन भ्रमणमा जानुहुनेछ ।