८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


अटिजम भएकाहरुका लागि विशेष कार्यक्रम ल्याउने सरकारको तयारी


2.977k
Shares

काठमाडौं । सरकारले अटिजम भएकाहरुका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले सो कुरा बताउनुभएको हो ।

उहाँले संसदमा पेस गरिएको शिक्षा विधेयकमा पनि शिक्षा सम्बन्धी समावेशी कार्यक्रम राखिएको बताउनुभयो । उहाँले अटिजम भएकाहरुलाई विशेष व्यवहारको आवश्यकता रहेको औँल्याउनुभयो । अधिकारीले कक्षाकोठामा अटिजम भएकाहरुलाई शिक्षण गर्दा छुट्टै किसिमको व्यवहार आवश्यक पर्ने र कक्षा कोठामा उनीहरुलाई विशेष हेरचाह आवश्यक रहेको बताउनुभयो ।

अपाङ्गता भएका व्यक्ति र अन्य व्यक्तिको परीक्षा सञ्चालन प्रकृया एउटै भएकोले परीक्षा प्रणालीमा सुधार गर्नुपर्ने उहाँको भनाइ थियो । सचिव अधिकारीले फरक क्षमता र दक्षता भएका व्यक्तिको हकमा समावेशी शिक्षा पद्धतीका विषयहरु १६ औं योजनामा समेटिने बताउनुभयो ।

सचिव अधिकारीले अटिजम भएकाहरुको विशेष किसिमको सीप र दक्षता प्रष्फुटन गर्न सरकारले उपयुक्त वातावरण सृजना गर्ने बताउनुभयो । अटिजम बच्चाले जन्मजात लिएर आउने एक विशेष प्रकारको अपाङ्गता हो ।