२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मुलुकलाई संकटबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्ने ईश्वर पोखरेलकाे भनाई


78
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले मुलुकलाई संकटबाट जोगाउनका लागि आफ्नो पार्टीले एक्लै बहुमत ल्याउनुपर्ने बताउनुभएको छ ।

मंगलबार जनकपुरमा आयोजित ‘संविधान निर्माणमा कमरेड सुवाषचन्द्र नेम्वाङको भुमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले देशलाई दुरावस्थाबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्ने बताउनुभएको हो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको अवस्थालाई बदल्नका लागि २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी एमालेले तयारी गरिरहेको पनि बताउनुभयो । उहाँले आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टीको ध्येयलाई आत्मासात गर्दै एकतावद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका अधिवेशनहरुलाई एकतावद्ध भएर सम्पन्न गर्न सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेता नेम्वाङलाई संविधान निर्माण र राष्ट्रिय राजनीतिमा देखिएको संकट समाधानका नेताको रुपमा चित्रण गर्नुभयो । ठूलो दबाबका बीच पनि नेपालको संविधान जारी हुनुमा स्वर्गीय नेता नेम्वाङको महत्वपूर्ण योगदान रहेको उहाँको भनाई थियो ।