
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउनुपर्ने बताउनुभएको छ ।
मंगलबार संविधान दिवस २०८० को अवसरमा चलचित्र विकास बोर्डमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोह २०८० लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले चलचित्र आम सञ्चारको माध्यम भएकाले समाजमा जागरण ल्याउन यसको महत्वपूर्ण भुमिका हुने बताउनुभयो । उहाँले चलचित्र क्षेत्रलाई एकीकरण र व्यवस्थापन गरी नियमन गर्न बनेको विधेयकको मस्यौदामाथि पुनः छलफल पश्चात संशोधन र परिमार्जन गरी आजै बुझाउने तयारी गरेको बताउनुभयो । उहाँले विधेयकलाई छिटो पास गराइ कार्यान्वयनमा ल्याउनसके चलचित्र क्षेत्रका लागि ऐतिहासिक सफलता मिल्ने बताउनुभयो ।
संविधान दिवस २०८० को अवसरमा कलाकारिताको क्षेत्रबाट समाज र देशमा योगदान पुर्याउनुभएका कलाकारहरु मदनकृष्ण श्रेष्ठ, वसुन्धरा भुसाल, दयाराम दाहाल, रेखा थापा, दीपाश्री निरौला लगायतका कलाकारहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्