१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


संविधान दिवसको अवसरमा सभामुख र राष्ट्रिय सभाका अध्यक्षको शुभकामना


104
Shares

काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै नेपालीमा शुभकामना व्यक्त गर्नु भएको छ ।

संविधान दिवसको शुभकामना सन्देशमार्फत सभामुख घिमिरेले संविधानको मर्म र भावनाअनुसार राजनीतिक नेतृत्व चल्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । उहाँले नेपालको विद्यमान संविधानले नागरिकका मौलिक हक र लोकतान्त्रिक राज्यव्यवस्थाको प्रत्याभूति गरेकाले परिवर्तनका लागि अब अर्को कुनै क्रान्तिको आवश्यकता नरहेको पनि सन्देशमा उल्लेख गर्नुभएको छ ।
नयाँ संविधानको निर्माणसँगै गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षताजस्ता विषय संस्थागत भएको उल्लेख गर्दै सभामुख घिमिरेले समाजमा विद्यमान विभेद र असमानता अन्त्य गर्दै समृद्धि र सामाजिक न्यायको गन्तव्य संविधानमार्फत सुनिश्चित भएको बताउनुभएको छ ।

त्यसैगरी राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले संविधानअनुसार बन्न बाँकी कानुनको यथाशीघ्र तर्जुमा गरी कानूनी रिक्तता पूरा गर्दै संविधानको कार्यान्वयनलाई पूर्णता दिनुपर्नेमा जोड दिनुभएको छ ।

अध्यक्ष तिमिल्सनाले लामो संघर्ष, त्याग र बलिदानको फलस्वरुप नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत आफ्नो संविधान आफैँ लेख्ने अवसर पाएकाले संविधान राज्यको मूल कानून भएको भन्दै यसको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन गर्न, संविधानमा व्यवस्था गरिएका जनताका आधारभूत मौलिक हक तथा मानवअधिकारको कार्यान्वयन गर्दै लोकतन्त्रका लाभहरूको समतामूलक र समवन्यायिक वितरण गर्नतर्फ ध्यान जानु जरुरी रहेको उल्लेख गर्नुभएको छ ।