
दीपक श्रेष्ठ/प्रदीप तामाङ (इमेज):
काठमाडौं, असार ५ । नेपाल प्रहरी देशैभर संयन्त्र भएको संगठन हो । मुलुकको तल्लो तहसम्म पुगेर सुरक्षा दिने काममा नेपाल प्रहरीको जनशक्ति खटिएको छ ।
तर, तीन वर्षअगाडिको भूकम्पमा परेर ध्वस्त भएको प्रहरीका भौतिक संरचनाहरु भने अझै पनि ठडिन सकेका छैनन् ।
तीन वर्षकाबीचमा मुलुकमा सरकारमा राजनीतिक नेतृत्वमात्र फेरिएन, स्वयं प्रहरी संगठनको नेतृत्वमा पनि निकैजना अदल–बदल भए । तर, देशैभर सञ्जाल रहेको नेपाल प्रहरीको भूकम्पले ध्वस्त बनाएका भौतिक संरचनाको पुनःनिर्माण भने हुन सकेन ।
अरु त अरु, स्वयं राजधानी काठमाडौंकै सुरक्षा हेर्ने निकाय महानगरीय प्रहरी परिसरको हविगत हेर्दा हाम्रो व्यवस्थापकीय क्षमतलाई गिज्याइरहेको भान हुन्छ ।
झन् अहिले त यही परिसरको कमान्ड सम्हालेका सर्वेन्द्र खनाल प्रहरी संगठनकै नेतृत्व सम्हाल्न पुगेका छन् । यसबीचमा खनाल नेतृत्वले गरेका कामबारे जनमानसमा सकारात्मक चर्चा पनि चलेको छ ।
वर्षौंदेखि रोकिएको बढुवालाई फटाफट निर्णय गर्ने विषय होस् वा सरकारले लिएका कदमलाई सुरक्षा निकायकातर्फबाट कार्यान्वयनमा सघाउने कुरा यसमा खनाल नेतृत्व लागिपरेको देखिन्छ ।
तर, टेन्टभित्र रहेर टेन्टको अफ्ठ्यारो व्यहोरेका उनको कार्यकालमा पनि भौतिक संरचनाको स्थायी प्रबन्धबारे टुंगो लाग्न सकेको छैन ।
राजधानीको सुरक्षा व्यवस्था हेर्ने महानगरीय प्रहरी परिसर र महानगरीय प्रहरी अपराध महाशाखा टेकुस्थित नेसनल ट्रेडिङको गोदाम र सोही क्षेत्रको पार्टी प्यालेसमा अलपत्र अवस्थामै रहेको छ ।
यद्यपि, प्रहरीले भने थापाथलीस्थित खाद्य संस्थानको ६२ रोपनी जग्गामध्ये ३२ रोपनी प्रहरीले किन्ने र त्यसका लागि प्रतिआना ५० लाख रुपैयाँका दरले २ अर्ब ५६ करोड रुपैयाँ निकासा गर्न अर्थ मन्त्रालयसँग पत्राचार भइरहेको जानकारी दिएको छ ।
पार्टी प्यालेसमा बसेर अपराध अनुसन्धानजस्तो संवेदनशील काम गर्नुपर्दा कठिन भइरहेको अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंह बताउँछन् ।
यही समस्याबीच तीन वर्षदेखि राजधानीका जनतालाई शान्ति–सुरक्षा प्रदान गर्दै आएको भन्दै चाँडै उपयुक्त व्यवस्था मिलाउन महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलको आग्रह छ ।
वि.सं. २०२२ सालदेखि हनुमानढोका परिसरमा रहेको भवनमा रहेर काम गर्दै आएको काठमाडौं प्रहरी २०७२ सालको भूकम्पले भवन बस्न अयोग्य भएपछि टेकुस्थित नेसनल ट्रेडिङको हातामा रहेको गोदाम र पार्टी प्यालेसमा सरेको थियो ।
प्रतिक्रिया दिनुहोस्