
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सहिष्णुतालाई कमजोर पार्ने गतिविधि भइरहेको भन्दै यसप्रति सचेत हुन अपिल गर्नुभएको छ ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले सामाजिक सहिष्णुता र सौहार्दतालाई कमजोर पार्ने गतिविधिहरु भइरहेको बताउनुभएको हो । उहाँले नेपालको बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचान रहेको भन्दै आपसी एकता, सहिष्णुता र सौहार्दतालाई कुनैपनि हालतमा कमजोर हुन दिनु नहुने बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले सहिष्णुता कमजोर पार्ने प्रयत्नका विरुद्धमा सरकारले कानूनी र प्रशासनिक रुपमा हस्तक्षेप गर्ने स्पष्ट पार्नुभयो । यसको निम्ति सबै सचेत हुनुपर्ने आवश्यकता रहेको पनि उहाँले उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले अर्थतन्त्रमा देखापरेका समस्याहरुका कारणपनि समाजमा अस्थिरता र अराजकता उत्पन्न भएको बताउनुभयो । उहाँले समाजमा ‘हेट स्पिच’ बढेर गएको भन्दै यसलाई सरकारले गम्भिरतापूर्वक लिएको बताउनुभयो । सामाजिक सञ्जालमा व्याप्त ‘हेट स्पिच’लाई नियमन गर्न सरकारले सरसल्लाह गरिरहेको उहाँले बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले सरकारले दलित र महिलामाथि हुने उत्पीडन र विभेदलाई प्रभावकारी ढंगले नियन्त्रण गरी अपराधी र दोषिलाई कारबाही गर्ने कुरालाई विशेष अभियानको रुपमा अगाडि बढाएको बताउनुभयो । त्यस्तै, जेल सुधार पनि अभियान अगाडि बढाउन खोजिएको उहाँको भनाई छ । उहाँले नागरिकता नियमावली पारित भइसकेको उल्लेख गर्दै केही दिनमै राजपत्रमा प्रकाशित हुने र नागरिकता वितरणलाई सहज बनाइने बताउनुभयो । नागरिकताको दुरुपयोगको सम्बन्धमा पनि गम्भिरतापूर्वक अनुसन्धान भइरहेको र दोषि उपर आवश्यक कारबाही हुने उहाँले स्पष्ट पार्नुभयो ।
गृहमन्त्री श्रेष्ठले गृह मन्त्रालय अन्तर्गत योग र ध्यानलाई अनिवार्य बनाउन लागिएको जानकारी दिनुभयो । कार्यालय आएपछि १५ मिनेटसम्म ध्यान गर्नैपर्ने व्यवस्था गर्न लागिएको उहाँको भनाई छ । उहाँले ध्यान विज्ञानको पहिलो प्रशिक्षणको उद्घाटन असोज ६ गते राष्ट्रपतिले उद्घाटन गर्ने पनि उहाँले जानकारी गराउनुभयो । ध्यानले व्यक्तिका साथै सुशासनको अभियानलाई पनि फाइदा गर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्