
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि शुक्रवार फेरि वार्ता हुने भएको छ ।
सरकार र आन्दोलनरत शिक्षकहरुबीच आज बिहिबार बिहान र साँझ गरी दुई चरणमा वार्ता भएपनि निष्कर्षमा पुग्न सकेन ।
शिक्षा विधेयकको विरोधमा शिक्षक महासंघको नेतृत्वमा बुधवारदेखि शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन । शिक्षकहरु आन्दोलनमा उत्रिएपछि देशैभरका सरकारी बिद्यालयको पठन पाठन ठप्प भएको छ ।
बिहीबार विहान आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छलफल गर्नु भएको थियो । साँझको बैठकमा गृहमन्त्री श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, अर्थमन्त्री प्रकाशशरण महत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ र संचारमन्त्री रेखा शर्माकोे उपस्थिति रहेको थियो ।
महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि रहेका थिए । संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासंघले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्नेसहितका माग छन् । बिधेयकमा आफूहरुले उठाएका माग संबोधन भए या विधेयक फिर्ता लिए मात्रै तत्कालका लागि आनदोलन फिर्ता हुनसक्ने महासंघमा आवद्ध एक बिद्यालयका प्रधानाध्यापकले बताए ।
बिहिबारको वार्ता टुंगोमा नपुगेपछि शुक्रबार बिहान ९ बजे फेरि सरकारसँग औपचारिक वार्तामा बस्नेगरी सरकार र आन्दोलनरत शिक्षकबीच समझदारी बनेको हो ।
प्रतिक्रिया दिनुहोस्