१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध


663
Shares

काठमाडौं । दुई दिनदेखिको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित कालापैराखोलामा आएको बाढीले बागलुङ–बुर्तिबाङ–पूर्वीरुकुम खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो ।

सडक शनिबार दिउँसोदेखि अवरुद्ध भएपछि पूर्वीरुकुमदेखि काठमाडौं, पोखरा, बागलुङलगायतका स्थानमा छुटेका मालवाहक तथा सवारीसाधन सडकमा ठप्प भएका छन् । लोकमार्ग ठप्प हुँदा सयौँ यात्रु सडकमै अलपत्र परेका छन् । रातभर भारी वर्षा भएको अहिले केही कम भएको हुँदा खुलाउने प्रयास भएको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए ।

बाढीले करिब दुई सय मिटर कालोपत्र सडकमा क्षति पुर्याएको अध्यक्ष पौडेलको भनाइ छ । कानाबगर हुँदै ओखरेनी जोड्ने शाखा सडकमा पहिरो जाँदा कालापैरा खोलामा बाढी आएर सडक अवरुद्ध बनाएको उनी बताउछन् । बुर्तिबाङ, बागलुङ, पोखरा, काठमाडौं र बुटवलदेखि निसी, भल्कोट हुँदै रुकुम जाने यात्रु कानाबगरमा रोकिएको उनको भनाइ छ ।