१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘व्यारियर सिस्टममा मौका परीक्षा दिन सकिँदैन’


2.548k
Shares

काठमाडौं । चिकित्सा शिक्षातर्फ एमबीबीएस अध्ययनरत ‘व्यारियर’मा परेका विद्यार्थीहरुले एक पटक मौका परीक्षा दिन त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानसँग माग गरेका छन् ।

संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आइतबार विद्यार्थीहरुले दुईदेखि तीन महिनासम्मको समय दिएर परीक्षामा सामेल गराउन त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानसँग माग गरेका हुन् । उनीहरुले कोरोना अवधिमा लकडाउनका कारण राम्रोसँग पढ्न नपाई व्यारियरमा परेको गुनासो गरेका छन् ।

व्यारियर सिस्टममा विश्वविद्यालयको शैक्षिक कार्यक्रमको भर्ना रद्ध भई विद्यार्थीहरु बहिर्गमनमा पर्ने गर्छन् । मौका परीक्षा नै नदिई दुइ वर्ष पढिसकेपछि कुनै विषयमा थोरै अंक ल्याउँदा व्यारियरमा पार्ने गरिएको पीडित विद्यार्थीको गुनासो छ ।

गण्डकी मेडिकल कलेज एमबीबीएस दोस्रो वर्षका विद्यार्थी राजिव दासले आफूहरुलाई दोस्रो वर्षबाट अध्ययन वञ्चित गरिएको बताउनुभयो । उहाँले व्यारियरमा परेर डिप्रेसनमा गई पीडित विद्यार्थीमध्ये केही विद्यार्थीले आत्महत्या गरिसकेको भन्दै एक पटक मौका परीक्षा दिन माग गर्नुभयो । उहाँले अन्तर्राष्ट्रियस्तरमा पनि मौका परीक्षा दिइएको भन्दै समय पाए उत्तिर्ण हुने आत्मविश्वास रहेको बताउनु भयो । हाल तीन सय बढी विद्यार्थीहरु व्यारियरमा परेका छन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका सहायक डिन प्रा.डा.प्रेम ज्ञवालीले व्यारियर सिस्टम राखेर मौका परीक्षा दिन नहुने बताउनुभयो । उहाँले एक पटक गल्ति गररिसकेपछि मौका परीक्षाको अवसर दिन नहुने बताउनुभयो । मेडिकल सेक्टरमा व्यारियर प्रणाली हटाए यसले गुणस्तरमा नै असर पर्ने उहाँको भनाई छ । व्यारियर सिस्टम हटाउनु हुँदैन भन्ने सबैको निष्कर्ष रहेको बताउनुभयो ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोईरालाले व्यारियर सिस्टमको नियम बनाए त्यसले सहजता हुने बताउनुभयो । उहाँले तीन वर्ष, चार वर्ष, पाँच वर्ष के हो भनेर स्पष्ट पार्नुपर्ने बताउनुभयो । उहाँले व्यारियर राख्दा ख्याल गर्नुपर्ने भन्दै बेसिक साइन्स र क्लिनिकल साइन्सको तादम्यता नमिल्ने बताउनुभयो ।

समितिमा सांसदहरुले व्यारियरमा एकरुपता ल्याउने जिम्मा कसको हो ? भन्दै प्रश्न गरेका थिए ।