६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


कोशीका मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै


2.028k
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज सोमबार मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ ।

कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो । सर्वोच्च अदालतको परमादेशपछि एमाले संसदीय दलका नेता कार्की गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री कार्कीले आफ्नै दल एमालेका थप चार जनालाई मन्त्री नियुक्त गर्न लाग्नुभएको हो । जसमा मोरङका लिलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राई मन्त्री बन्न लागेका मुख्यमन्त्री कार्की निकट स्रोतले जनाएको छ ।

मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार कार्कीले यही असोज २१ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ । विश्वासको मत लिने मिति नजिकिदै गर्दा मुख्यमन्त्री कार्कीले मनित्रपरिषद बिस्तार गर्न लाग्नु भएको छ ।

९३ सदस्यीय कोशी प्रदेश सभामा अहिलेकै अवस्था हेर्दा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन त्यति सहज छैन । प्रदेशसभामा विश्वासको मतमा बहुमतका लागि ४७ प्रदेश सभा सांसदको समर्थन चाहिन्छ । हाल प्रदेश सभामा एमालेका ४०,नेपाली कांग्रेसका २९,माओवादी केन्द्रका १३,राप्रपाका ६,नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना सांसद रहेका छन् । कार्कीले बहुमतका लागि कांग्रेस वा माओवादीको साथ लिनु पर्ने देखिएको छ ।