
काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अधिवेशन काठमाडौंमा सुरु भएको छ ।
भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा अध्यक्ष केपी शर्मा ओलीले रिमोर्टमार्फत ड्रोन उडाएर र दीप प्रज्वलन गरेर अधिवेशनको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा एमालेका शीर्ष नेताका साथै विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधिहरू सहभागी छन् ।
अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने छ । अधिवेशनमा प्रदेशभरबाट करिब १२ सय जना प्रतिनिधि सहभागी भएका छन् । अधिवेशनमार्फत प्रदेश कमिटीको अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव गरी पाँच पदाधिकारीसहित २४० सदस्यीय नयाँ कार्य समिति चयन गर्ने एमालेले जनाएको छ । प्रदेश अध्यक्ष पदमा पाँच नेताले आकांक्षा प्रकट गरेका छन् ।
एमाले बागमतीको अध्यक्षमा केन्द्रीय सदस्यहरू रामेछापका कैलाश ढुङ्गेल, मकवानपुरका कृष्ण दाहाल तथा प्रदेश नेता नुवाकोटका केशवराज पाण्डे, चितवनका कृष्णभक्त पोखरेल र काठमाडौँका सानुकुमार श्रेष्ठले आकांक्षा देखाएका छन् ।
एमालेले यसअघि लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन सम्पन्न गरिसहेको छ । अधिवेशनले राधाकृष्ण कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्