२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संविधान कार्यान्वयनमा देखिएका जटिलता महासमितिको बैठकमा छलफल हुन्छ : महामन्त्री थापा


78
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान कार्यान्वयनका सन्दर्भमा देखिएका जटिलताहरु महासमितिको बैठकमा छलफल हुने बताउनुभएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले महासमितिको बैठकमा नीति महाधिवेशनले गर्ने समेत कामहरु गर्ने स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधन वा निर्वाचन प्रणालीमा पुनः समीक्षा गर्नेकुरा पनि महासमितिको बैठकमा छलफल हुने बताउनुभयो । उहाँले कार्यसमिति बैठकमा नेताहरुले सरकार सञ्चालनका विषयमा सुझाव, चासो, आलोचना गरेको भन्दै त्यसलाई छलफल गर्ने बताउनुभयो । उहाँले कांग्रेसले अघिल्लो कार्यसमितिको बैठकबाट गरेका निर्णयहरु सरकारलाई सुनाएकोमा माग पूरा नभएको अवस्था रहेकाले पुनः सरकारलाई स्मरण गराउने बताउनुभयो ।

नेता प्रदीप पौडेलले महासमितिलाई भव्य बनाउन विभिन्न समिति बनाउने, विभिन्न दस्ताबेज तयारी गर्ने र अहिलेको राष्ट्रिय राजनीतिमा समसामयिक विषयहरुका बारेमा पार्टीको दृष्टिकोण सरकार प्रमुख समक्ष लगेर बैठकले निर्णय गरेको बताउनुभयो । उहाँले पार्टीले कुन राष्ट्रिय मुद्दामा के निर्णय गरेको छ भन्ने बारेमा सरकार प्रमुखलाई जानकारी गराउने र सरकारलाई ति काम अविलम्व गर्न दबाब निर्णय भएको बताउनुभयो ।

नेता पौडेलले नेपाली काँग्रेस समावेश भएको सरकारलाई जनताको पक्षमा निम्ति हाम्रो पार्टीको तर्फबाट बैठकका निर्णय सरकार प्रमुखसमक्ष बुझाउने निर्णय भएको बताउनुभयो । उहाँले महासमितिको बैठकलाई नीति महाधिवेशनका रुपमा सम्पन्न गर्नेगरी सबै विषयको प्रश्ताव तयार गर्ने र नीतिगत रुपमा काँग्रेसलाई स्पष्ट बनाउने निर्णय भएको बताउनुभयो ।