
काठमाडौं । सरकारले देशभरका प्रत्येक स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ को जानकारीमुलक बोर्ड राख्ने निर्णय भएको छ ।
प्रत्येक स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ को जानकारीमुलक बोर्ड राख्ने जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिइएको छ ।
मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि गृह मन्त्रालयमा आज मंगलवार छलफल भएको थियो । छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि आक्रमण गर्ने जो कोहीलाई ऐन बमोजीम कारबाही हुने जानकारी दिनुभयो । उहाँले दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले ऐनलाई कार्यान्वयन गर्न सरकारले कुनै कसर बाँकि नराख्ने बताउनुभयो ।
छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा दरबन्दी नखोल्दा नै समस्या सृजना भएको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी ऐनलाई प्रभावकारी रुपले कार्यान्वयन गर्नु अहिलेको आवश्यकता रहेको औंल्याउनुभयो । स्वास्थ्यमन्त्री बस्नेतले बिरामीको चाप बढीरहेको, लामो समयदेखि चिकित्सक दरबन्दी सृजना नहुनु लगायतका कारणले पनि विभिन्न दुर्घटनाहरु हुने गरेको बताउनुभयो ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले संघले भोलि बुधबार एक बजे बोर्ड बैठक डाकेको र त्यसपछि आन्दोलनबारे आवश्यक निर्णय हुने बताउनुभयो । उहाँले आज छलफलमात्रै भएको र कुनै निष्कर्ष ननिस्किएको बताउनुभयो । उहाँले सरकारले चिकित्सकहरुसंग प्रतिवद्धता गरेपनि कार्यान्वयन नगर्दा चिकित्सकहरुमाथि पटक पटक भौतिक आक्रमण हुने गरेको बताउनुभयो । उहाँले चिकित्सकहरुको संख्या निकै न्युन हुँदापनि चिकित्सकहरु अहोरात्र खटेर काम गरिरहेको भन्दै चिकित्सक दरबन्दी थपमा सरकार गम्भिर हुनुपर्ने बताउनुभयो ।
बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइराला लगायतका प्रतिनिधिको उपस्थिति थियो । छलफलमा स्वास्थ्यकर्मीहरुले स्वास्थ्यकर्मीमाथि पछिल्लो केही साता यता आक्रमणका घटना बढीरहेको भन्दै सरकारसंग दोषिलाई कारबाहीको व्यवहारिक प्रतिवद्धता सरकारले दिलाउनुपर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्