
काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजार ओभर करेक्शन हुँदा शेयरधितो कर्जामा १५० प्रतिशतको जोखिमभार कायम राख्नु ठिक नभएको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो ।
उहाँले राष्ट्र बैंकले धितोपत्र बजारमा अनावश्यक हस्तक्षेप गरिरहनु धितोपत्र बजारका लागि राम्रो नभएको बताउनु भयो । पूर्वअर्थमन्त्री खतिवडाले स्वयत्त संस्थाको अधिकारमा अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले धितोपत्र बोर्डलाई हस्तक्षेप गर्नु उपयुक्त नभएको बताउनुभयो । उहाँले आ–आफ्नो क्षेत्रको काम जिम्मेवारी पूर्णक सबैले काम गर्दा अर्थमन्त्रालयले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले धितोपत्र बोर्डलाई हस्तक्षेप गर्न आवश्यक नहुने बताउनुभयो ।
उहाँले अहिले बैंकहरुले दुई प्रतिशत मात्रै धितो कर्जा बजारमा लगाई दिँदा ३० देखि ४० अर्ब बजारमा जाने बजार चलायमान हुने बताउनु भयो । उहाँले राष्ट्र बैंकले एउटा व्यवसायीले १ खर्बसम्म ऋण लिँदा त्यहाँ जोखिम नदेख्ने तर १२ करोड कसैले लगानी गर्यो भने त्यहाँ जोखिम देख्ने गरेको टिप्पणी गर्नुभयो । उहाँले राष्ट्र बैंकले जोखिम देख्ने र लेख्ने प्रक्रिया पनि बुझ्न नकिएको बताउनु भयो । उहाँले ३२ सय अंकको शेयर इनडेक्स हुँदा जोखिम भए पनि अहिले बजार ओभर करेक्शन भएको बताउनुभयो ।
पूर्वअर्थमन्त्री खतिवडाले शेयर बजार माथि जान्छ त्यो बेला मात्रै जोखिमको प्रवन्ध गर्नुपर्ने बताउनुभयो । उहाँले शेयर बजारमा सानो करेक्शन गर्दा धेरै हुने वाला केही नभएपनि मनोवल बढ्ने दाबी गर्नुभयो । उहाँले धितोपत्र बोर्डको भुमिका माथि प्रश्न गर्दै बजारलाई स्थायित्व दिने जिम्मेवारी पाएको धितोपत्र बोर्डले आईपीओ बाढी ल्याउन नहुने बताउनुभयो । उहाँले नेप्सेको हालत पनि ठिक नभएको बताउनुभयो । उहाँले टि प्लस २ भनिए पनि सो समयमा शेयर कारोबारको राफसाफ नहुने गरेको र शेयर कारोबारको सिस्टम पनि गतिलो नभएको बताउनुभयो । डा. खतिवडाले कुनैपनि निकाय आफ्नो जिम्मेवारीबाट भाग्नु नहुने र आफ्ना जिम्मेवारी पन्छाएर हल्लाखल्ला गरेर केही नहुने बताउनुभयो ।
उहाँले संकटमा अर्थतन्त्र भएको मुलुकको सरकारको रवैया बढी भएको बताउनुभयो । उहाँले सरकारले संकट रहेको अर्थतन्त्रमा रवैया देखाउने भन्दा पनि तत्काल सुधारका केही काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा आएको समस्या अर्थतन्त्र अनौपचारिक क्षेत्रमा जाँदा समस्या आएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्